तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोको त्रासमा देवल गाउँ

गोरखा । भर्खरै मात्र सडक सञ्जालले जोडिएको गोरखा चुमनुब्री गाउँपालिकाको केन्द्र फिलिम पुग्नै सकस छ । फिलिमबाट तीन घण्टाको यात्रामा पुगिने लोक्पा गाउँमा लोक्पा खोला रहेको छ । खोला माथि देवल गाउँ छ । 

चुम उपत्यकामा पर्ने यो ठाउँमा पहिरो जान न पानी पर्न पर्छ न कुनै वर्षातको मौसम नै हुनुपर्दछ । जतिबेला पनि सुख्खा पहिरो खसिरहन्छ । वर्षातको समयमा केही समय बाटो अवरुद्ध नै हुने गर्दछ । पहिरोको सिरानमा रहेको देवल गाउँ विगत २४ वर्ष अघि देखि निरन्तर पहिरोको चपेटामा परेको छ । 

चुमनुब्री गाउँपालिकाले भूगर्भविद्हरू ल्याएर बस्तीको अनुगमन गराएको थियो । भूगर्भविद्हरूले बस्ती बस्न योग्य नरहेको निष्कर्ष निकाले पनि त्यहाँ रहेका ७७ घर परिवारले आफ्नो थाकथलो छाडेका छैनन् । गाउँमाथिको मिसुक डाँडा, तल लोक्पा खोला र दायाँ मेर्चा खोलाबाट चलेको पहिरोले देवल गाउँ घेरिएको छ ।  

बस्ती स्थानान्तरणको प्रक्रिया सुरु भएपनि देवल गाउँलाई कहाँ राख्ने भन्ने अझै एकिन हुन सकेको छैन । अघिल्ला जनप्रतिनिधिहरूको पहलमा मानव बस्ती राख्न योग्य नभएको निक्र्यौल निकाले पनि यहाँका मानिसहरू जोखिम मोलेर देवल गाउँमै बसिरहेका छन् । 

पहिरोका कारण यहाँका नुसिला, लोक्पा, ल्याक्सिगाउँ गरी तीन वटा बस्ती बगाई सकेको छ ।अहिले बसिरहेका घरका बस्तीका जमिन सबै चिरा चिरा भएर फाटेको छ । तिनवटा घर उच्च जोखिममा रहेका गाउँपालिका उपाध्यक्ष लक्ष्मी गुरुङले बताउनुभयो । 

बर्षातको समयमा पानी पर्न सुरु भएपछि गाउँका कोही पनि सुत्दैनन्  । यस क्षेत्रमा २०५६ सालमा विद्युत् निकाल्नलाई पावर हाउस बनाएदेखि पहिरो जान सुरु भएको थियो । पहिरो जान थालेपछि पावर हाउसको काम समेत रोकिएको थियो । त्यस पछि निरन्तर पहिरो गइरहेको वडा नम्बर ६ अध्यक्ष समेत रहनु भएका लोक्पा गाउँका सरोज गुरुङ बताउनुहुन्छ । 

सरकारले यो ठाउँमा जानु नभनेकाले डराइ डराइ भएपनि गाउँमा नै बस्न बाध्य भएको स्थानीय मनमती गुरुङको भनाइ छ । यस क्षेत्रका बासिन्दाहरू गाउँपालिका छाडेर जान नमानेकाले अन्यत्र बस्ती स्थानान्तरण समस्या भएको गाउँपालिका अध्यक्ष निमा लामाको भनाई छ । गाउँपालिकामा त्यति धेरै सङ्ख्यामा राख्न सक्ने ठाउँहरू कमै रहेको छ, यसबारेमा माथिल्लो निकायमा छलफल भइरहेको उहाँले बताउनुभयो । बस्तीसँगै कला र संस्कृति समेत सर्ने भएकाले यसको संरक्षण गर्नु हामी सबैको दायित्व हुने लामाको भनाई छ । 

गाउँपालिकाले तारजाली लगाएर पहिरो रोक्न प्रयास गरेपनि सफल नभएको लामाले बताउनुभयो । २०८० पुस २३ गते बसेको स्थानीय विपद् व्यवस्थापन समितिले उक्त बस्ती स्थानान्तरणका लागि पहल गरिदिन अनुरोध गर्दै जिल्ला विपद् व्यवस्थापन समितिमा पत्र पठाएका छौँ । 

वैशाख तेस्रो साता बसेको जिल्ला विपद् व्यवस्थापन समितिले उक्त जोखिम नियन्त्रणका लागि राष्ट्रिय विपद् व्यवस्थापन समिति प्राधिकरण पठाइएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले बताउनुभयो । पहिरो रोकथाम र बस्ती स्थानान्तरणका लागि सरोकारवालाहरू समयमै सचेत हुनुपर्ने दाहालको भनाई छ  ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button