‘अनिद्रामाथि सहज विजय’ कृति लोकार्पण
काठमाडौँ । लेखक निरन श्रेष्ठको ‘अनिद्रामाथि सहज विजय’ नामक कृति लोकार्पण गरिएको छ ।
लेखक स्वयम्को अनिन्द्राको लामो अनुभव तथा मुक्तिमाथिको गहन अध्ययनमा आधारित कृतिमा अनिन्द्रा कारण बिताउन परेको शारीरिक र मानसिक कष्टपूर्ण जीवनको अनुभूति समावेश छ ।

हरिवन नगरपालिका प्रमुख रमेश बुढाथोकी (कमल), हरिवनस्थित चतुर्भुजेश्वर जनता माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक कृष्णप्रसाद भट्टराई, पूर्व महान्यायाधिवक्ता बद्रीबहादुर कार्की, वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारी, पोखरा विश्वविद्यालयका पूर्वउपकूलपति खगेन्द्र भट्टराई, नेपाल सरकारका पूर्व सचिव दिनेशहरि अधिकारी लगायतले संयुक्त रूपमा पुस्तक लोकार्पण गर्नुभयो ।
साङ्ग्रिला टुरिजम एण्ड होटल ट्रेनिङ सेन्टर प्रकाशनद्वारा प्रकाशित कृतिमा अनिद्राबाट उत्पन्न गराएको निराशा, बेचैनी र पीडाबाट संसार नै त्याग्न पर्छ कि भन्ने सोचमा पुगिसकेका लेखकलाई औषधिभन्दा आत्मबलबाटै निदाउन बल प्रदान गरेका घटना र विषयवस्तु सन्देशका रूपमा समेटिएको छ ।
‘एक रातको निद्राले सात रात पिर्छ’ भन्ने भनाइ रही आएकामा लेखकको आहार र बिहार ठिकठाक रहँदा पनि अचानक वर्षौँसम्म अनिन्द्राबाट गुज्रनुपरेको घटना र परिवेश पुस्तकमा सटिक र बुँदागत रूपमा राखिएको छ । अनिद्रा मेटाउने क्रममा चिकित्सकबाटै सिफारिस गरिएका औषधिले समस्या निदानको साटो घातक भएको उल्लेख छ ।
त्यस अवसरमा नगर प्रमुख बुढाथोकीले चिकित्सकले सिफारिस गरेको भन्दैमा जस्तासुकै औषधिको प्रयोग गर्नुभन्दा एउटा सचेत मानिसको आत्मबल र हिम्मतले कतिपय रोग निको गर्न सकिन्छ भन्ने उदाहरण पुस्तकमा रहेको बताउनुभयो । उहाँले हरिवन नगरपालिका जनस्वास्थ्य नीति तर्जुमा गर्ने अभियानमा जुटेकाले विभिन्न सल्लाह र सुझाव दिई सहयोग पुर्याउन नगरवासीलाई आह्वान गर्नुभयो ।
पूर्व उपकुलपति भट्टराईले राजनीतिक दलहरू सत्ताको लडाइँमा रहेकाले जनस्वास्थ्यमा ध्यान नदिँदा जनताले कतिपय गुणस्तरहीन औषधि समेत खान बाध्य रहेका बताउनुभयो । पूर्व प्रधानाध्यापक भट्टराईले पछिल्लो समय राजनीतिक नेतृत्वदेखि समाजका सबै तह र तप्काका मानिस केवल लिन मात्रै आएजस्तो भान भएकाले देशप्रतिको जिम्मेवारी, कर्तव्य र लगाव कमजोर हुँदै गएको धारणा राख्नुभयो ।
पूर्व महान्यायाधिवक्ता कार्कीले अनिन्द्राका विषयमा लेखकले साबिती प्रमाणसहितका विषयवस्तु समेटिएको कृतिमा एउटा स्वस्थ मानिसका लागि आहार, बिहार र निद्रा उतिकै महत्वपूर्ण हुन्छ भन्ने सुझाव दिइएको बताउनुभयो । वरिष्ठ पत्रकार अधिकारीले निद्राको विषयलाई केन्द्रमा राखेर अनुभवका आधारमा लेखिएको सानो आकारको पुस्तकमा पढेर नभई परेर जानेका व्यवहारिक स्वास्थ्यसम्बन्धी ठूला सन्देश समेटिएको बताउनुभयो ।
पूर्व सचिव अधिकारीले मुलुकको स्वास्थ्य क्षेत्रमा देखिएका विकृतिप्रति औला ठड्याउँदै यस क्षेत्रमा सेवाभाव हुनुपर्छ भन्ने सन्देश कृतिमा रहेको विचार व्यक्त गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्