गण्डकी प्रदेशका कला, साहित्यको प्रचारप्रसारमा लागौँ : मुख्यमन्त्री अधिकारी
कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशका कला र साहित्यलाई विश्वभर फैलाउन प्रचारप्रसारमा लाग्नुपर्ने बताउनुभएको छ ।
गण्डकी प्रज्ञा प्रतिष्ठान पोखराको तेस्रो स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमको शनिबार उद्घाटन गर्दै मुख्यमन्त्री अधिकारीले देशमा ख्यातिप्राप्त लेखनाथ पौडेल, भानुभक्त आचार्य, माधव घिमिरेजस्ता कवि यसै क्षेत्रमा जन्मेकाले प्रदेश कला, साहित्यमा निकै धनी रहेको बताउनुभयो ।
“लोक संस्कृतिमा समेत धनी मानिएको गण्डकी प्रदेशलाई कला र साहित्यमा अगाडि बढाउँदै विश्वभर फैलाउन जरुरी छ । त्यसका लागि पर्यटनको राजधानी पोखरामा यस क्षेत्रको कला, संस्कृति, भेषभूषा र नेपाली भाषाको विकास गर्न जरुरी छ”, उहाँले भन्नुभयो ।
पर्यटकीय राजधानी पोखरामा बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याएर यहाँको कला र संस्कृतिका बारेमा जानकारी र प्रचारप्रसार गर्न जरुरी रहेकामा उहाँले जोड दिनुभयो ।
त्यस अवसरमा कला, साहित्य र सांस्कृतिक क्षेत्रमा योगदान पुर्याउनुभएका स्रष्टालाई नगदसहित सम्मान गरिएको थियो । साहित्यतर्फ सरस्वती प्रतीक्षा, भूपेन्द्र खड्का, कलातर्फ गोपाल श्रेष्ठ, छिरिङफोन्जो गुरुङ, संस्कृतितर्फ खगराज शर्मा, लोकदोहोरीतर्फ पुरुषोत्तम न्यौपाने र नृत्यतर्फ रवीन गुरुङलाई मुख्यमन्त्री अधिकारीले सम्मान गर्नुभएको थियो ।
गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘बिखर्ची’को अध्यक्षतामा भएको कार्यक्रममा उपकुलपति गोरे गुरुङले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्