‘पर्यटन प्रवर्द्धनमार्फत समृद्धि हासिल गर्न सबै एकजुट हुनुपर्छ’
ललितपुर । सभामुख देवराज घिमिरेले मुलुकमा रहेका सांस्कृतिक र प्राकृतिक सुन्दरताको प्रचारप्रसार गर्दै पर्यटन प्रवर्द्धनमार्फत समृद्धि हासिल गर्न सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभएको छ ।

ललितपुरको महालक्ष्मी नगरपालिका–१० को नवनिर्मित वडा कार्यालय भवन उद्घाटनका लागि आयोजित समारोहमा सभामुख घिमिरेले राजनीतिक परिवर्तनको आन्दोलन सम्पन्न भएको बताउनुहुँदै अब पर्यटन प्रवर्द्धनमार्फत समृद्धि हासिल गर्नेतर्फ सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।

जनप्रतिनिधि र राजनीतिक दलमा इच्छाशक्ति भयो भने हरेक क्षेत्रको विकास सम्भव हुने भन्दै स्थानीय तहको विकास र आकर्षणका लागि जनप्रतिनिधि र राजनीतिक दलले योजना बनाएर लाग्नुपर्ने उहाँको भनाइ छ ।
उहाँले उद्घाटन भएको भवनबाट जनताको दैनिक सेवा सुविधालाई सहज बनाउन गुणात्मक उपलब्धि हासिल होस् भन्ने कामना गर्नुभयो । सभामुख घिमिरेले स्थानीय जनताको प्रयत्न र लगनशीलताले मात्रै समृद्धि हासिल हुने बताउँदै आफ्नो क्षेत्रबाट सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । वडा कार्यालयको भवन निर्माणले जनतालाई छिटो र सहज रुपमा सेवा प्रदान गर्ने भन्दै यसले सङ्घीयताको प्रभावकारिताका लागि सहयोग पुर्याएको बताउनुभयो ।
प्रतिनिधिसभा सदस्य प्रेमबहादुर महर्जनले ग्वार्कोबाट पनौतीसम्म पुग्ने सडकलाई स्तरोन्नति गरेर सहज बनाउने कार्यमा लाग्ने र यहाँको पर्यटन विकासमा क्रियाशील रहने बताउनुभयो । उहाँले नगरकोट र धुलिखेल जस्तै पर्यटकीय क्षेत्र बनाउनका लागि सङ्घीय सांसदका रुपमा लागिपर्ने बताउनुभयो ।
बागमती प्रदेशका स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले पहिलो कार्यकालमा आफू नगर प्रमुख हुँदा स्वच्छ, सफा, समृद्ध र सुन्दर नगरपालिका बनाउने कार्ययोजना तय गरेको बताउनुभयो । उहाँले वडा कार्यालय भवन समयमै निर्माण सम्पन्न गरेकामा निर्माण व्यवसायीलाई धन्यवाद व्यक्त गर्नुभयो ।
मन्त्री श्रेष्ठले उत्पादनसँग जोडिने युवालाई स्वरोजगार र आत्मनिर्भर बनाउनका लागि स्थानीय तह र स्वास्थ्य संस्थासँग समन्वय गरी आगामी वर्षको प्रदेश मन्त्रालयअन्तर्गतको बजेट आउने जानकारी गराउनुभयो । उहाँले पूर्वाधार विकासका साथै मानवीय विकासका लागि स्वास्थ्य, शिक्षा र रोजगारको क्षेत्रमा स्थानीय सरकारलाई सबलीकरण गर्न प्रदेश तहबाट लागिपर्ने बताउनुभयो ।
महालक्ष्मी नगरपालिकाका प्रमुख हरिगोबिन्द महर्जनले वडा नं १० लाई महत्व दिएर बजेट व्यवस्थापन गरिरहेको बताउनुभयो । उहाँले यस क्षेत्रको तामाङ समुदायको आर्थिक, सामाजिक विकास, पर्यटन पूर्वाधार विकासका लागि काम गरिरहेको उल्लेख गर्नुभयो ।
नगर प्रमुख महर्जनले यस ठाउँको विकासका लागि २० रोपनीको क्षेत्रमा फुटबल ग्राउन्ड बनाउने तयारी रहेको जानकारी दिनुभयो । लाँकुरी भन्ज्याङलाई पर्यटकीय क्षेत्र बनाउनका लागि गुरुयोजना तयार गरिरहेको पनि उहाँले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्