सहिद कपमा सुदूरपश्चिम र जनकपुर ११ विजयी
जनकपुरधाम । जनकपुरधाममा जारी अन्तर प्रदेश सहिद कप टि–२० क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको दुई खेलमा जनकपुर ११ र सुदूरपश्चिम प्रदेश विजयी भएका छन् ।
मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालयको आयोजना तथा सहिद कप क्रिकेट कमिटी र मधेश प्रदेश क्रिकेट सङ्घको संयोजनमा जनकपुरधामको निर्माणाधीन रामजानकी बहुउद्देश्यीय रङ्गशालामा जारी रहेको प्रतियोगिता अन्तर्गत आज बिहान भएको खेलमा सुदूरपश्चिमले लुम्बिनीलाई ३२ रनले पराजित गरेको छ ।

पहिलो ब्याटिङ गर्दै सुदूरपश्चिम प्रदेशले २० ओभरको खेलमा १४८ रन बनाएको थियो । प्रतिउत्तरमा ब्याटिङ गरेको लुम्बिनी प्रदेश १९.३ ओभरमा १० विकेटको क्षतिमा ११६ रनमा समेटियो ।
आयोजक टिम जनकपुर ११ र बागमती बीचको खेलमा जनकपुर ११ क्रिकेट टिम ४ विकेटले विजयी भएको छ । पहिला ब्याटिङ गरेको बागमती प्रदेशले १८.५ ओभरको खेलमा सम्पूर्ण विकेट गुमाउँदै ११७ रन बनाएको थियो ।
११८ रनको लक्ष्य जनकपुर ११ ले १९.२ ओभरमा ६ विकेटको क्षतिमा पुरा गर्यो ।
वैशाख २८ गतेसम्म चल्ने सहिद कप क्रिकेट प्रतियोगितामा विजयी हुने टिमलाई २ लाख ११ हजार नगदसहित शिल्ड, पदक तथा प्रमाणपत्र र उपविजेता हुने टिमलाई १ लाख ११ हजार नगद हित शिल्ड, पदक तथा प्रमाणपत्र प्रदान गरिने छ ।








प्रतिक्रिया राख्नुहोस्