तपाईँ सुन्दै हुनुहुन्छः

सर्लाहीमा आगलागी : विष्णु गाउँपालिका- बाराउद्योरण गाउँका ६५ भन्दा बढी घर जले

बरहथवा (सर्लाही) । सर्लाहीको विष्णु गाउँपालिका—१ स्थित बाराउद्योरण गाउँमा भीषण आगलागी हुँदा करिब ६५ घर जलेका छन् । 

आज दिउँसो स्थानीय शत्रुघन राउतको घरमा लागेको आगोपछि ग्यास सिलिण्डर विस्फोट हुँदा गाउँका करिब ६५ घर जलेका वडाध्यक्ष विकाउ ठाकुरले जानकारी दिनुभयो । 

आज दिउँसो १ः०० बजेतिरबाट सुरु भएको आगो स्थानीयबासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीले वारुणयन्त्र, चापाकलको पानीको सहारामा करिब चार घण्टापछि निभाइएको समेत वडाध्यक्ष ठाकुरले बताउनुभयो ।

“आगो निभाउन चार घण्टाभन्दा बढी समय लाग्यो । दमकल समयमै आएको भए यति धेरै क्षति हुन्थेन । केही बेरसम्म चापाकलकै सहारामा आगो निभाउने प्रयास भए पनि बस्ती नै सखाप गरेर छोड्यो । फुसको र खपडाको छानासहितका धेरै घर भएकाले आगो चाँडै फैलियो”, उहाँले भन्नुभयो । 

स्थानीय विनय सिंहले एउटा घरमा लोगेको आगो ग्यास सिलिण्डर पड्किएपछि बस्तीमा विस्तार भएको बताउनुभयो । 

नगरप्रमुख जवाहरलाल यादवले बाराउद्योरण गाउँमा आगलागीपछि एक सयभन्दा बढी घरमा क्षति पुगेको बताउनुभयो । उहाँले भर्खरै भित्र्याएको गहुँलगायत अन्नबाली, लत्ताकपडा जल्नुका साथै धेरै पशुचौपया समेत जलेका र क्षतिको विवरण आई नसकेको बताउनुभयो । 

त्यस्तै, सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक हरिहरनाथ योगीले आगलागी नियन्त्रणमा आएको र हाल क्षतिको विवरण सङ्कलनको काम भइरहेको जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button