क्यान्सर पीडित बालिकालाई एक लाख रुपैयाँ आर्थिक सहयोग

भक्तपुर । आठौँ भक्तपुर महोत्सवले क्यान्सर पीडित नौ वर्षिया बालिकालाई एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
भक्तपुरमा गत चैत २२ गतेदेखि वैशाख २ गतेसम्म सम्पन्न महोत्सवबाट सङ्कलन भएको रकमबाट मध्यपुर थिमि नगरपालिका–३ गठ्ठाघर निवासी ब्लड क्यान्सर पीडित नौ वर्षिया बालिका समिला लावतीलाई एक लाख रुपैयाँ सहयोग गरिएको हो ।
मेला आयोजक औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतका अनुसार हाल भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालमा उपचार गराइरहेकी बालिकाको खातामा सो रकम पठाइएको छ ।
एक दशकदेखि भक्तपुरमा महोत्सवको आयोजना गर्दै आएको औद्योगिक शान्ति नेपाल संस्थाले महोत्सवबाट उठेको रकमको केही प्रतिशत सामाजिक कार्यमा सहयोग गर्दै आइरहेको छ । सोही अनुसार यसवर्ष क्यान्सर पीडित बालिकालाई सहयोग गरिएको महतले बताउनुभयो ।
आर्थिक अवस्था कमजोर रहेपनि नेपालमा उपचार सम्भव नभएपछि लावती नयाँ दिल्लीमा उपचार गराई रहेकी छिन् । लावतीलाई सहयोग गर्न चाहनेले समिला लावतीको एभरेष्ट बैङ्कमा रहेको खाता नं. ०१२१०५०१२०००१२ मा रकम पठाएर सहयोग गर्न लावती परिवारले आग्रह गरेको छ ।
त्यसैगरी औद्योगिक शान्ति नेपाल संस्थाले अनाथ असहाय सडक मानवको उद्धार र पालन पोषण गर्दै आएको मानव कल्याण समाज भक्तपुरलाई दश हजार रुपैयाँ प्रदान गरेको छ ।
सो रकम समाजको खातामा पठाइएको मेला आयोजक समितिका संयोजक दिपक थापाले बताउनुभयो । संस्थाले हरेक वर्ष मेलाका अवसरमा राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडीलाई समेत नगदसहित सम्मान गर्दै आएको छ ।
यसैबीच औद्योगिक शान्ति नेपालले हाल चन्द्रागिरि नगरपालिकाको नैकापमा महोत्सव सञ्चालन गरिरहेको छ । अध्यक्ष महतका अनुसार सो महोत्सव वैशाख १९ गते सम्म सञ्चालन हुनेछ । जहाँ ब्यापार मेला लगायत दैनिक चर्चित गायक गायिका तथा अन्य कलाकारहरूको बेजोड प्रस्तुति भइरहेको बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्