‘पोखराको पूर्वाधारमा तीनै तहका सरकारको भूमिका हुनुपर्छ’
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पोखरालाई पर्यटनको राजधानी घोषणासँगै यसको पूर्वाधार निर्माणमा तीनै तहका सरकारको भूमिका हुनुपर्ने बताउनुभएको छ ।

मङ्गलवार पोखरा लेक साइडमा चारतारे होटलको रुपमा स्तरोन्नति भई सञ्चालनमा आएको होटल पोखरा भिलेज रिसोर्ट एण्ड स्पाःको उद्घाटन गर्दै मुख्यमन्त्री अधिकारीले पोखरामा अझै केही पूर्वाधारको अभाव भएकोले त्यसलाई पूरा गर्न तीन तहका सरकारको भूमिका हुनुपर्ने बताउनुभयो ।
प्रधानमन्त्रीबाट घोषणा भएपछि यसलाई संघीय सरकारले स्वामित्वको रुपमा लिएर अगाडि बढ्नुपर्ने उहाँको भनाई छ । तीनै तहका सरकारको पहलमा बाँकी भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिन सके राजधानी घोषणालाई साकार बनाउन सकिनेमा अधिकारीले जोड दिनुभयो ।

निजी क्षेत्रबाट २५ औँ करोड लगानी गरेर चारतारे स्तरको होटल सञ्चालन गर्न लागेकोमा खुशी व्यक्त गर्दै उहाँले पोखरामा गुणस्तरीय पर्यटक भित्राउन गुणस्तरीय सेवा सुविधा उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरामा वर्षमा २० लाख पर्यटक ल्याउन सक्ने आधार रहेको दाबी गर्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष विमला भण्डारी, पोखरा महानगरपालिका–६ का अध्यक्ष विष्णुबहादुर भट्टराई, होटेलका जनरल मेनेजर लक्ष्मण खड्का, सञ्चालक बालकृष्ण गैह्रे लगायतले पर्यटनको बारेमा चर्चा गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्