तपाईँ सुन्दै हुनुहुन्छः

उडान नहुँदा सुनथराली विमानस्थल उद्घाटनमै सीमित 

जुम्ला । कालिकोटको सुनथराली विमानस्थल उद्घाटनमै सीमित भएको छ । करिब चार दशकपछि निर्माण सम्पन्न भई औपचारिक उद्घाटन गरेपनि उडान नहुँदा विमानस्थल उद्घाटनमै सीमित भएको हो । 

३८ वर्षपछि निर्माण सम्पन्न भएको कालिकोटको नरहरिनाथ गाउँपालिका वडा नं.१ कोटबाडा स्थित सुनथराली विमानस्थल गत फागुन १४ गते भव्य उद्घाटन भएको थियो । उद्घाटनका क्रममा तत्कालीन रक्षा मन्त्री पूर्ण बहादुर खड्का र पर्यटन मन्त्री सुदन किराँतीले सकभर नियमित नभए हप्तामा एक उडान अनिवार्य गर्ने बाचा गरेका थिए । 

तर विमानस्थल उद्घाटन भएको झण्डै दुई महिना पुग्न लागिसक्दा पनि उडान शुन्य हुँदा सुनथराली विमानस्थल उद्घाटनमै सीमित भएको कालिकोटवासीको गुनासो छ । २०५८ फागुन ११ गते नेपाली सेनाले विमानस्थल निर्माणको काम गरिरहेका नहरीनाथ १ का टेक बहादुर विष्ट सहित ३६ जना कामदारको निर्मम हत्या गरी एउटै चिहान बनाएको थियो । २१ वर्षीय छोरा टेक बहादुर गुमाएकी आमा मृगा विष्टले सुनथराली उद्घाटनपछि हप्तामा एउटा जहाज आउने कुराले उत्साहित हुनुहुन्थ्यो ।  

तर आजसम्म पनि एउटा जहाज नआएपछि राज्यले ३६ जनाको एउटै चिहान बनाएकाहरूको आत्म शान्ति र आफन्तहरूको मर्म बुझ्न नसकेको गुनासो पोख्नु भएको छ । उहाँले भन्नुभयो, ‘नत राज्यबाट मृतक परिवारले उचित राहत पायौ । न पाउने आशा छ । नियमित जहाज आएको भएपनि मृतक आत्माले शान्ति पाउँथ्यो कालिकोटवासीको जहाज चढ्ने सपना पुरा हुन्थ्यो । तर आश्वासन दिएर पनि उडान हुन सकेको छैन । खै हाम्रा लागि राज्य कहाँ छ ?’

फोटो क्याप्सन: सुनथराली विमानस्थल उद्घाटनका क्रममा आएका जहाज । तस्बिर: सागर परियार

एयरपोर्ट उद्घाटन भएदेखि कालिकोटवासी जहाजकै पर्खाइमा रहेको नरहरीनाथ गाउँपालिका वडा नं.९ का वडाध्यक्ष प्रदीप बोहोराले बताउनुभयो । राज्यको करोडौँ लगानीमा विमानस्थल निर्माण भएपनि प्रयोग विहीन हुनु राज्यकै असक्षमता हो । 

उहाँले भन्नुभयो,‘मन्त्रीदेखि सांसदले उद्घाटनका क्रममा हजारौँको सङ्ख्यामा उपस्थित नागरिकलाई तपाईँहरू तयार भएर बस्नुहोस् अब हप्तामा एउटा उडान हुन्छ । कालिकोटको जहाज चढ्ने सपना चाडै पुरा हुन्छ ढुक्क हुनुहोस् भन्दै आश्वासन दिएका थिए । तर उद्घाटन भएको दुई महिना बित्दा पनि एउटा जहाज आएको छैन ।’

सुनथराली विमानस्थलमा हप्तामा एक उडान गर्ने कार्यतालिका नै बनाएर तत्काल कार्यान्वयन गर्ने भनिएपनि उद्घाटनमा मन्त्री सांसद बोकेर आएका जहाज फागुन १४ गतेदेखि हाल सम्म फर्केर आएका छैनन् । 

नरहरीनाथ १ का स्थानीय ज्ञान बहादुर विष्ट सरकारले चासो नदिएकै कारण एयरपोर्ट निर्माणदेखि उद्घाटन र नियमित उडानको सवाल पेचिलो बनेको बताउनुहुन्छ । उनी भन्छन्,‘राज्यकै उदासीनताले एयरपोर्ट निर्माण हुन चार दशक लागेको । उद्घाटनमै वर्षौँ बित्यो । अब जहाज चढ्न अझ कति वर्ष कुर्नु पर्ने हो ? मन्त्रीको बोलीको ठेगान नहुने भएपछि कालिकोटको पिडा कसले बुझ्ने ?’

हप्तामै एउटा उडान गर्नका लागि भएपनि कालिकोटका कुनै दलका नेताको सक्रिय देखिन्न । बरु सत्ता परिवर्तनले सुनथरालीमा जहाज उडानको विषयमा सरकारको ध्यान केन्द्रित नभएको भन्दै टारिरहेका छन् । 

नरहरीनाथ गाउँपालिका अध्यक्ष नगेन्द्रवहादुर विष्टले सबै प्रक्रिया पुरा भईसकेपनि नागरिक उड्डयन प्राधिकरणले अनुमति नदिएकोले उडान नभएको बताउनुभयो । उहाँले भन्नुभयो,‘नेपालगन्ज कालिकोट, सुर्खेत कालिकोट र धनगढी कालिकोटको भाडा दर समेत कायम भइसकेको छ । तर अनुमति नपाएका कारण उडान हुन सकेको छैन । मन्त्रीहरूले गरेको बाचाअनुसार उडान गर्नका लागि पहल नगर्नु र आज सम्म एउटा जहाज नआउनु दुखद पक्ष हो ।’

नेपालगन्ज कालिकोटका लागि प्रति व्यक्ति पाँच हजार ५५१ रुपैयाँ,सुर्खेतबाट तीन हजार ९०१ रुपैयाँ र धनगढीबाट पाँच हजार २४९ रुपैयाँ लाग्ने भाडादर समेत निर्धारण भइसकेको छ । जत्तिकै सुकै व्यवस्थापन गरेपनि परिणाममा विमानस्थल उद्घाटनमै सीमित भएको र केन्द्र सरकारले उपेक्षा गरेको भन्दै कालिकोटका स्थानीयले आक्रोश पोखेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button