तपाईँ सुन्दै हुनुहुन्छः

सङ्घीय र प्रदेश सरकार सँग सडक बिस्तार गर्न दुर्गमवासीको माग

मुगु । छायानाथ रारा नगरपालिकाका नगर प्रमुख बिष्णु कुमार भामले जिल्लामा रहेका आन्तरिक सडक र कर्णाली राजमार्ग  कालोपत्रे  गर्न  माग गर्नु भएको छ । 

सङ्घीय र प्रदेश सरकारले विकास निर्माण लगायत  अन्य कामको लागि  खासै चासो  नदेखाएकोले आगामी आर्थिक वर्षमा  मुगु जिल्लाको  सडक लगायत समग्र विकासका लागि  पर्याप्त बजेट बिनियोजन गर्न  उक्त माग गर्नु भएको हो । प्रदेश र संघीय सरकार मातहतका जिल्ला स्थित सडकहरूको स्तरउन्नती र अन्य सुधारका काम दुवै सरकारले नगरेका  कारण  जनताले स्थानीय सरकारलाई गुनासो गर्ने गरेको  प्रमुख विष्णुकुमार भामले बताउनुभयो ।

जिल्ला स्थित क्रियाशील पत्रकारहरूका लागि पत्रकार आचारसंहिता तथा आचरण सम्बन्धी आयोजना गरेको ३ दिने तालिमको शनिवार समापन गर्नुहुँदै  नगरप्रमुख भामले प्रदेश र संघीय सरकारलाइ यस्तो माग राख्नु भएको हो ।

छायानाथ रारा नगर पालिकामा रहेका संघीय सरकार मातहतका कर्णाली राजमार्ग अन्तरगत नाग्म ,गमगढीको बुलबुले ,गमगढी खण्ड,गमगढी,नाक्चे लाग्न सडक,ताल्छ,रारा सडक र गमगढी,लामाचौर,रारा सडकहरूको सुधार तथा स्तर उन्नतिमा ध्यान नदिँदा सवारी चालक तथा यात्रुले सास्ती खेप्दै आएका छन् ।

कर्णाली प्रदेश सरकारले पनि आफ्ना मातहतका गमगढी ,तारापानी सडक ,गमगढी ,बाम, हुम्ला दार्म सडक,गमगढी,पिना ,राताचौर सडक,बालै,मन्दु,जुम्ला सडक,अल्कासाघु,चराप,रोवा,सोभा सडक,लुम्स, सोवा सडक,झाडनाउला,मन्दु सडक,कोटिल्ला,लिउडी,घट्ट्लेख,सडक सडकहरु,निर्माण सुधार र स्तरोन्नतिमा प्रदेश सरकारले ध्यान नदिएको बताउनु भयो ।

गमगढी बजारको आँखा अस्पताल देखि सामुदायिक भवनको मोडसम्म सडक विभागले सडक समयमै नबनाउँदा यो सडक सधैँ पानी परे हिलाम्य र घाम लागे धुलाम्य हुन्छ । सङ्घीय सरकारबाट १० करोडमा ठेक्का लागेको २ वर्ष बितिसक्दा पनि अझै काम सम्पन्न गरेको छैन । गमगढी बजार प्रवेश यही सडक पर्ने भएकोले विभिन्न काम विशेषले मुगु आउने व्यक्तिहरू तथा रारा ताल,चन्खेली हिमाल,दूध ताल,सातपोखरी ताल,छायानाथ धाम,रिणिमोक्क्ष धाम,थार्प मष्टो लगायत धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्र घुम्न आउने पर्यटकहरूले कठिनाई खेप्नु परेको उहाँले बताउनु भयो ।

जनताले यो सडक कसको मातहतको कस्ले विकास गरेन हो त्यो बुझ्दैनन् घर अगाडि भएका सडक स्थानीय सरकारले बनाउनु पर्छ भनेर असन्तुष्ट व्यक्त गर्छन् । जनतालाई हाम्रो मातहतको सडक होइन प्रदेश र सङ्घीय सरकारलाइ भन्नुस् भनेर सम्झाउँदा प्रदेश,संघीय हामी चिन्दैनौ नगरपालिकाले बनाउनु पर्छ भन्नुहुन्छ, स्थानीय सरकासङ्ग सीमित बजेट हुन्छ त्यत्रा ठुला-ठुला योजना हामी कसरी बनाउने ठुला बजेट हुने सरकारले चासो दिँदैनन्नगर प्रमुख भामले गुनासो गर्नु भयो । 

केही सडक र पुलहरु नगरपालिकाको  दबाब पछि  बनाउन र सुधार गर्न प्रदेश र संघीय सरकारले  काम शुरु गरे पनि त्यो झारो टार्ने जस्तै गरि काम गरिरहेकोप्रति भामले आक्रोश व्यक्त गर्नुभयो । नगरपालिका मात्र होइन जिल्ला भरीका प्रदेश तथा संघीय सरकार मातहतका सडक नबनाउँदा जनताले सास्ती भोग्दै आएका छन् ।

२०७९ को बाढी पहिरोले नाम निसाननै नराख्ने गरि बगाएको रामतडी,झुगेला,कणाली करिडोरसम्मको सडक बनाउन कुनै सरकारले चासो नदिँदा खत्याड तल्लो भेगका जनता गाउँपालिका केन्द्र,सदरमुकाम गमगढी र सदरमुकाम गमगढी र खत्याड माथिल्लो भेगका जनतालाई झुगला सम्म आउजाउ गर्न कठिनाइ हुँदै आएको छ । यो सडक बनाउन प्रदेश र संघीय सरकारले चासो दिएका छैनन् तर जनता गाली भने स्थानीय खत्याड गाउँपालिकाको नेतृत्वलाई गर्दै आएका छन् ।

प्रदेश र संघीय सरकारले विकास गर्न नसक्ने भए जनताका नजिकका सरकार स्थानीय सरकारलाइ बजेट पठाओस् हामी समयमै गुणस्तर र मापदण्ड भित्रका विकास गरेर देखाइ दिन्छौ भामले बताउनुभयो । पटक पटक प्रदेश र संघीय सरकार मातहतका कार्यालयलाई आग्रह गर्दा पनि सुनुवाइ भएको छैन, जिल्ला र प्रदेशमा स्थानीय सरकारका विकासे कार्यलयहरु भए पनि विकासको काम शुरुनै नगर्ने र गरिहाले पनि बर्षौ अल्झाएर राख्ने गरेको गुनासो गर्दै उहाँले सङ्घीय सरकार मातहतका विकासे कार्यालय त झन २ दिन पैदल दूरी टाढा जुम्ला जिल्लामा रहेकाले यस्तो अवस्थामा प्रदेश एवं सङ्घीय सरकार मातहतका विकासे कार्यालयले जनतालाई कति सेवा र विकास गरे होलान् ? प्रश्न गर्नुभयो । 

प्रमुख भामले,पत्रकारहरूलाई स्थानीय सरकारका मात्र कमी कमजोरी देखाउने प्रदेश र संघीय सरकारबारे केही नबोल्ने नलेख्ने नगर्न सुझाव दिँदै सबैका राम्रा नराम्रा दुवै कुरा बाहिर ल्याउन आग्रह समेत गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button