पूर्व मुख्यसचिव शाक्यको अन्त्येष्टि
पाटन (ललितपुर) । पूर्व मुख्यसचिव तीर्थमान शाक्यको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
गत बुधवार ग्वार्कोस्थित बिएण्डबी अस्पतालमा निधन हुनुभएका शाक्यको बौद्ध धर्म परम्पराअनुसार आज दिउँसो १ः३० बजे शङ्खमूलस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।
उहाँको पार्थिव शरीरमा जेठा छोरा महेन्द्र शाक्यले दागबत्ती दिनुभयो । सोही अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आर्यघाट पुगेर पुष्प गुच्छासहित श्रद्धाञ्जली अर्पण गर्नुभयो । साथै नेपाल प्रहरीको टुकुडीले गारत सम्मानसहित सलामी अर्पण गरेको थियो ।
अन्त्येष्टिमा लोकसेवा आयोगका प्रमुख माधवप्रसाद रेग्मी, आयोगका सदस्यहरू, पूर्व अध्यक्ष दिनेशचन्द्र थपलिया, संविधानसभाका सदस्य मदनबहादुर अमात्य, बागमती प्रदेशसभा सदस्य रामकृष्ण चित्रकार, ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, जिल्ला प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक शेखर खनाल, नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकृतहरूसहितका व्यक्तित्वहरूका साथै स्थानीयको सहभागिता थियो ।
नेपाल कानुन समाजका अध्यक्षसमेत रहनुभएका शाक्य क्यान्सरसम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो । लोकसेवा आयोगका पूर्व अध्यक्ष शाक्य ८१ वर्षको उमेरमा निधन भएको हो । उहाँ डेढ महिनाअघि मात्र भारतको दिल्लीमा स्वास्थ्य परीक्षण गरी स्वदेश फर्कनुभएको थियो । नेपालको कानुनको मस्यौदामा दख्खल प्राप्त गर्नुभएका उहाँ कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिवसमेत हुनुभएको थियो ।
स्व शाक्यका दुई छोरा र दुई छोरी हुनुहुन्छ । उहाँको श्रीमतीको करिब तीन महिनाअघि मात्रै निधन भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्