तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेश सरकारका नवनियुक्त तीन मन्त्री र एक राज्यमन्त्रीद्वारा शपथ

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा पुनः मधेश प्रदेशको मन्त्रीपरिषद् विस्तार भएको छ । 

मुख्यमन्त्री सरोज कुमार यादवको सिफारिसमा मधेश प्रदेशका नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेश प्रमुखको सचिवालय मधेश भवनमा विशेष कार्यक्रमका बीचमा आज पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भयो । 

नियुक्त भएका माओवादी केन्द्रका २ र नेकपा एकीकृत समाजवादीका एकजना मन्त्रीलाई प्रदेश प्रमुख भण्डारीले पद तथा गोपनीयताका सपथ ग्रहण गराउनु भयो । 

यसै गरि नेकपा एमालेका प्रदेश सभाका सदस्य शारदा देवी थापालाई गृह, सञ्चार तथा कानून राज्यमन्त्रीको रुपमा मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेश प्रमुखको उपस्थितिमा पद तथा गोपनीयताको सपथ ग्रहण गराउनु भयो ।  

माओवादी केन्द्रबाट मन्त्री बनेका सो पार्टीका संसदीय दलका नेता भरतप्रसाद साहलाई बिना विभागीय मन्त्रीको जिम्मेवारी दिइएको थियो । यसै गरि माओवादी केन्द्रकै युवराज भट्टराईलाई उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।  

यसै गरि नेकपा एकीकृत समाजवादी पार्टीका प्रदेश सभाका सदस्य बेची लुंगेली बिना विभागीय मन्त्रीको जिम्मेवारी दिइएको छ । मधेश प्रदेश सभामा सत्ता गठबन्धनमा रहेका माओवादीलाई दुई र नेकपा एसलाई पनि दुई मन्त्रालय भएको छ । यस अघि ती दुई पार्टीका एक एकजना मन्त्री रहेका थिए । 

शपथ ग्रहण कार्यक्रममा मधेश प्रदेशका प्रदेशका सभामुख रामचन्द्र मण्डल, प्रदेश सरकारका मन्त्रीहरू उपस्थित रहनु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button