नागरिकको सुरक्षा सरकारको पहिलो प्राथमिकता : गृहमन्त्री लामिछाने
काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नागरिकको सुरक्षा सरकारको पहिलो प्राथमिकता भएकाले सडक सुधारमा ध्यान दिनुपर्ने बताउनु भएको छ।
आज काठमाडौँमा ट्राफिक सचेतना विशेष अभियानको उद्घाटन गर्नुहुँदै गृहमन्त्री लामिछानेले सडक सुरक्षाकालागि सडकसँग सम्बन्धित सरकारी निकाय र निजी क्षेत्रबीच सार्थक सहकार्य आवश्यक रहेको बताउनु भएको हो । उहाँले सडक सुरक्षाका लागि रोड टेष्ट बिना लाइसेन्स दिने विद्यमान व्यवस्थामा सुधार गर्नुपर्ने आवश्यकता समेत औँल्याउनुभयो ।
यसका लागि यातायात सुधार कार्यदलको प्रतिवेदन तत्काल उपलब्ध गराउन आग्रह गर्दै गृहमन्त्री लामिछानेले कार्यान्वयनमा लैजाने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । यस्तै, अभियानले सडक सुरक्षाबारे धेरैलाई जिम्मेवार नागरिक बनाउन मद्दत गर्ने काठमाडौँ महानगरपालिकाको उपप्रमुख सुनिता डङ्गोलले बताउनुभयो । ३० वर्ष अघिको सडक ऐनले वर्तमानको आवश्यकता सम्बोधन गर्न नसक्ने भएकाले संशोधन गर्नुपर्ने डङ्गोलको भनाई छ ।

सभ्य सडक संस्कारको माध्यमबाट दुर्घटना न्यूनीकरण तथा सडक र ट्राफिक नियम पालनामा सचेतना अभिवृद्धिका लागि अभियान सञ्चालन गरिएको ट्राफिक प्रहरी प्रमुख डिआइजी पोषराज पोखरेलले बताउनु भयो । अभियानका क्रममा पैदल यात्रीलाई १ मिनेट र चालकलाई २ मिनेट समय दिइने उहाँले बताउनु भयो । अब ट्राफिक प्रहरीले यात्रु एवं चालकसँग विनम्रतासहित व्यवहार गरिने तर गलत कार्यका लागि कडा ढंगले प्रस्तुत हुने उहाँले बताउनुभयो । दुर्घटना सङ्ख्यालाई पनि कार्य सम्पादन मूल्याङ्कनको विषय बनाउने बताउँदै उहाँले ट्राफिक नियम विपरीत गरिने कुनै पनि गलत कार्यका लागि अब जरिवाना बढ्ने पनि बताउनुभयो ।
चालकसँग कमिसन लिई अपराधको भागीदार नबन्न र सङ्गठनकै बेइज्जत नगर्न आग्रह गर्दै उहाँले ट्राफिकलाई दिने गरिएको इन्सेन्टिभ (हाल बन्द) लाई निरन्तरता दिइने बताउनु भयो । नेताको हात समाएर बढुवा हुने गलत अभ्यास सच्याएर बढुवालाई स्वचालित प्रणालीमा लैजाने बताउँदै उहाँले सरकारले वृतिविकासमा ध्यान दिने समेत बताउनुभयो ।
ट्राफिक सचेतना अभियान एक सातासम्म सञ्चालन हुनेछ ।








प्रतिक्रिया राख्नुहोस्