तपाईँ सुन्दै हुनुहुन्छः

‘निष्पक्ष पत्रकारिताले लोकतान्त्रिक गणतन्त्र बलियो हुन्छ’

जनकपुरधाम । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले निष्पक्ष तथा निर्भिक पत्रकारिताले लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउने बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ धनुषाको १३ औँ साधारण सभाको आज जनकपुरधाममा उद्घाटन गर्दै उहाँले पत्रकारिता जगतले सधैँ निष्पक्ष भएर जनता तथा देशको पक्षमा काम गर्न आवश्यक भएको बताउनुभयो ।

उहाँले पत्रकारिताको नाउँमा केही व्यक्तिले गलत काम गर्ने गरेको बताउँदै पत्रकारिता जगतलाई नै दूषित बनाउने व्यक्तिप्रति पत्रकार जगत सचेत र सजग रहन आवश्यक भएको बताउनुभयो ।

सभामुख मण्डलले केही पत्रकारहरूले कर्पोरेटको इशारामा काम गर्ने गरेको बताउँदै स्वार्थ सिद्ध नभएपछि गलत समाचार दिएर राम्रो व्यक्तिको चरित्र हत्या गर्ने काम हुने गरेको बताउनुभयो ।

उहाँले सामाजिक सञ्जाल व्यक्तिको अभिव्यक्ति गर्ने सशक्त माध्यम बनेको बताउँदै यसले पत्रकारिता क्षेत्रमा अनेक चुनौती थप्ने गरेकाले पत्रकारहरूले अझै जिम्मेवारीका साथ कलम चलाउन आवश्यक भएको बताउनुभयो ।

मधेश प्रदेशका प्रदेश सभाका सदस्य रामअशिष यादवले मुलुकमा सुशासन तथा जिम्मेवार शासनका लागि निष्पक्ष तथा तटस्थ पत्रकारिता आवश्यक भएको बताउनु भयो ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव दिपेन्द्र चौहानले नेपाल पत्रकार महासङ्घले निष्पक्ष रुपमा अहिलेकै सदस्यहरूको सहभागितामा ७७ वटै जिल्लामा साधारण सभा गराएर अब आउने नयाँ नेतृत्वलाई नेतृत्व हस्तान्तरण गर्न चाहेको बताउनुभयो ।

जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले पत्रकारहरूको कारणले नै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताउँदै आफूहरूलाई काम गर्दा पत्रकारिता जगतले नै जिम्मेवार बनाउने गरेको बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घ धनुषाका अध्यक्ष मनिका झाको अध्यक्षतामा भएको सो कार्यक्रममा महासङ्घका केन्द्रीय सदस्यद्वय रिंकु गायत्री मिश्र, के सी लामिछाने, नेपाल पत्रकार महासङ्घ मधेश प्रदेशका अध्यक्ष राजेश कुमार कर्ण, मधेश प्रदेशका आम सञ्चार प्राधिकरणका अध्यक्ष श्याम सुन्दर यादव, मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष कैलाश दास, पूर्व अध्यक्ष उमेश साह, अनिल मिश्र, पूर्व केन्द्रीय सदस्य हिमांशु चौधरी सहितका वक्ताहरूले पत्रकारिता जगतले भोग्नुपरेका समस्याबारे बोल्नुभएको थियो ।

सोही अवसरमा नेपाल पत्रकार महासङ्घ धनुषाले लामो समयसम्म पत्रकारिता क्षेत्रमा क्रियाशील रहनु भएका वरिष्ठ पत्रकार चन्देश्वर गिरी, शङ्कर श्रेष्ठ, वि एम खनाल तथा अशोक रौनियारलाई दोसल्लासहित सम्मान गरेको थियो ।

यसै बीच महासङ्घको बन्द शत्रमा महासङ्घका सचिव बटुकनाथ झाले पेश गर्नुभएको साङ्गठनिक प्रतिवेदन तथा कोषाध्यक्ष राजकमल सिंहले पेश गर्नुभएको आर्थिक प्रतिवेदनमा व्यापक छलफल र सुझावसहित पारित गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button