तपाईँ सुन्दै हुनुहुन्छः

उदयपुरबाट सञ्चालन हुने लामो दुरीका सवारी साधनमा सिसिटिभी अनिवार्य

उदयपुर  । उदयपुर प्रहरीले उदयपुरबाट सञ्चालन हुने लामो दुरीका सार्वजनिक सवारी साधनमा सिसिटिभी र जिपिएस अनिवार्य गरेको छ । 

यातायात व्यवसायी र ट्राफिक प्रहरीको सहकार्यमा दुर्घटना न्युनिकरणका लागि उदयपुरको सदरमुकाम गाईघाटबाट सञ्चालन हुने लामो दुरीका सार्वजनिक यातायातमा सिसी क्यामेरा र जिपिएस जडान गरिएको हो । 

हाललाई साना ठुला गरी ११ वटा सार्वजनिक सवारी साधनमा सिसी क्यामेरा र जिपिएस जडान गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

“सार्वजनिक यातायातमा प्रविधिको प्रयोग, जनधनको क्षति र दुर्घटना न्यूनीकरणमा सहयोग“ भन्ने नाराका साथ सुरु भएको प्रविधि जडान गर्ने अभियान अन्तरगत जिल्लाका सबै प्रकारका यातायातका साधनमा सिसिटिभी जडान गरिने उदयपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश थापाले बताउनुभयो ।

सिसिटिभी जडान कार्यविधि–२०७२ अनुसार व्यक्तिको स्वतन्त्रता र गोपनीयतालाई मध्यनजर गर्दै यातायात व्यवसायीले  अपनाउनुपर्ने विशेष सतर्कता र सुरक्षा सम्बन्धी प्रहरी र यातायात व्यवसायीबीच समझदारी समेत भएको छ ।

आज एक कार्यक्रममार्फत कोशी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङ, त्रियुगा नगरपालिकाका नगरप्रमुख वसन्त कुमार बस्नेत उपप्रमुख महेश्वरी राईले प्रविधि जडानको शुभारम्भ गर्नुभयो । 

जिपिएस र सिसिटिभी जडानले दुर्घटना नियन्त्रण गर्न र चालक र सहचालकको आचरण सुधार गर्न सहज हुने विश्वास लिएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button