गणतन्त्रको विकल्प राजतन्त्र हुनै सक्दैन : मन्त्री शर्मा
झापा । सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले व्यवस्था परिवर्तन गर्न चाहनेले संसदमा दुईतिहाई पुर्याउन चुनौती दिनुभएको छ ।
आज बिर्तामोडमा प्रेस सेन्टर नेपाल झापा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले संविधानको व्यवस्थामा कुनै परिवर्तन गर्न संसदमा दुई तिहाइ बहुमत पुर्याउनुपर्ने बताउनुभयो ।

सरकारको प्रवक्ता समेत रहनुभएकी मन्त्री शर्माले गणतन्त्रको विकल्प राजतन्त्र हुनै नसक्ने बताउनुभयो ।
‘राजतन्त्रको पक्षमा नेपाली जनता छैनन्,’ उहाँले भन्नुभयो–‘अहिलेको गणतन्त्रमा राजतन्त्रको माग गर्न रोक लगाइएको छैन, तर, कानून तोड्न र अराजकता मच्चाउन पाइँदैन, कसैले निषेधाज्ञा तोड्न खोज्छ भने जुनसुकै पदमा भए पनि कानून बमोजिम कारबाही हुन्छ ।’
सञ्चारमन्त्री शर्माले इलाम–२ मा हुन लागेको उपनिर्वाचनमा विचार मिल्ने राजनीतिक शक्ति एमालेसँगको नयाँ सहकार्यका लागि नेकपा माओवादी केन्द्रले आफ्नो उम्मेदवार नउठाएको बताउनुभयो ।
सरकार नतिजा निस्कने गरी काम गर्ने पक्षमा लागिरहेको हुँदा सबैबाट सकारात्मक सहयोगको अपेक्षा गरिएको उहाँले बताउनुभयो ।
प्रेस सेन्टर नेपाल झापा अध्यक्ष राजु पाठकको अध्यक्षतामा विर्तामोडको सिटी सेन्टरमा पत्रकार सम्मेलन भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्