तपाईँ सुन्दै हुनुहुन्छः

बर्दियामा छैन यातायातमा छुट

बर्दिया ।  सरकारले सार्वजनिक यातायातमा यात्रा गर्दा परिचयपत्रका आधारमा अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक र विद्यार्थीलाई  छुट दिने व्यवस्था गरेपनि त्यो कार्यान्वयन हुन सकेको छैन ।  

अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकलाई सवारी साधनमा लाग्ने भाडामा ५० प्रतिशत र विद्यार्थीलाई ४५ प्रतिशत छुट दिने व्यवस्था सरकारले गरेको थियो । तर बर्दिया लगाएतका स्थानमा सो ऐन, नियमावली तथा कार्यविधि अनुसार लक्षित वर्गले सुविधा पाउन सकेका छैनन् । जसका कारण  अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक र विद्यार्थी राज्यले दिएको सुविधाबाट समेत बञ्चित हुन परेको छ ।

अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी नियमावली –२०७७ मा सार्वजनिक यातायातले पूर्ण अशक्त, अति अशक्त र  मध्यम अपाङ्गताका भएका व्यक्तिलाई परिचय पत्रको आधारमा ५० प्रतिशत छुट उपलब्ध गराउनु पर्नेछ । भने ज्येष्ठ नागरिक सम्बन्धी ऐन २०६३ मा ज्येष्ठ नागरिकको लागि कम्तीमा दुईवटा सुरक्षित सिटमा साठी वर्ष उमेर पुरा गरेका ज्येष्ठ नागरिकलाई राख्नु पर्ने र निजलाई यात्रु भाडादरमा कम्तीमा ५० प्रतिशत छुट दिनु पर्ने कानुनी व्यवस्था रहेको छ । 

बर्दिया नेत्रहीन संघका सचिव प्रेम प्रसाद अधिकारीले नेपाल सरकारले तोके अनुसार अपाङ्गता भएको व्यक्ति तथा ज्येष्ठ नागरिकलाई सार्वजनिक सवारी साधनमा छुट नदिने गरेको गुनासो गर्नु भयो । कसैले छुट पाउनुपर्छ भनेर विरोध गरेमा केही छुट दिन्छन् उहाँले भन्नु भयो –‘ काउन्टरमा कार्यरत कर्मचारीले समेत मन परेमा प्रतिशत भन्दा पनि दुई चार सय छुट दिएर उम्कन खोज्छन् ।’ अपाङ्गता अधिकारकर्मी दलबहादुर सुनारले यातायात व्यवसायीहरू समितिबाट प्रा.लि.मा गएपछि छुट नगर्ने परिपाटी देखिएको बताउनुभयो । 

बबई क्याम्पसका स्ववियु अध्यक्ष लक्ष्मण भण्डारीले पटक पटक विद्यार्थीलाई छुट सवारी साधनमा छुट पाउनु पर्ने विषयमा सरोकारवाला निकायको ध्यान आर्कषण गर्दा समेत सुनुवाइ नभएको बताउनुभयो ।  

सार्वजनिक यातायातमा भाडाका बस, मिनिबस, तथा माइक्रोबसका सवारीसाधनमा विद्यार्थी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा जनआन्दोलनका घाइतेलाई सहुलियतको रुपमा भाडामा दिए बापत सवारी साधनका धनीले तोकिएको करमा ६० प्रतिशत छुट पाउने व्यवस्था छ । 

त्यसैगरी छुट पाउने वर्गका खुलेको स्टिकर / सूचना त्यस्तो सूचना सवारी साधनमा टाँसेको हुनु पर्ने र प्रदेश सरकारको कुनै पनि निकायबाट अनुगमन गर्दा सो बमोजिमको छुट दिएको नपाइएमा वा स्टिकर / सूचना टाँसेको नपाइएमा छुट दिएको रकम र सोही बराबरको जरिवाना गरी असुल उपर गर्ने लुम्बिनी प्रदेश सरकार आर्थिक मामिला मन्त्रालयले जनाएको छ । 

तर यातायात महासङ्घका केन्द्रिय उपमहासचिव शम्भु प्रसाद रिजालले  सरकारले कर छुट बन्द गरेको कारणले अपाङ्गता भएका व्यक्ती, जेष्ठनागरीक र विद्यार्थीहरूलाई भाडामा छुट दिन छोडेको बताउनुभयो । उहाँले भन्नु भयो–‘ केही बर्ष देखि सरकारले करमा छुट दिएको छैन, त्यसैले अपाङ्गता भएका र ज्येष्ठ नागरिकलाई सिटको कोटा राखेपनि भाडामा छुट दिन सकिएको छैन ।’ 

प्रतिक्रिया राख्नुहोस्

Back to top button