तपाईँ सुन्दै हुनुहुन्छः

‘अग्निपीडितको पुनःस्थापनाका लागि सीप विकास आवश्यक’

काठमाडौँ । सरोकारवालाहरुले अग्निजन्य दुर्घटना तथा हिंसापीडितको पुनःस्थापनाका लागि उनीहरूको सीप विकासमा जोड दिनुभएको छ ।

आज यहाँ ‘बर्न भ्वाइलेन्स सर्भाइभर्सस् नेपाल’द्वारा आयोजित ‘अग्निजन्य दुर्घटना तथा हिंसा, सचेतना र उपचारमा पहुँचसम्बन्धी नीतिगत बहस’मा सहभागी सांसद गोपीबहादुर सार्की अछामीले समाजमा त्यस्ता पीडितहरूलाई कसरी पुनःस्थापनाको बाटोमा लाने भन्नेमा चुनौती रहेको बताउनुभयो ।

सांसद देवेन्द्र पौडेलले अग्निपीडितलाई पीडामाथि पीडा थप्ने व्यवहार हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “यस प्रकारको समस्या अन्त्य गर्न सामाजिक जागरणको आवश्यकता देखिन्छ । पीडितलाई उपचारको उचित प्रबन्ध मिलाइनुपर्छ । यसबारे अन्तर्राष्ट्रिय क्षेत्रमा गरिएका प्रतिबद्धता कार्यान्वयन जरुरी देखिन्छ ।”

एसिड आक्रमणको सिकार हुनुभएकी सांसद विन्दवासिनी कंसाकारले आफूले जलन पीडितका लागि निरन्तर वकालत गर्दै आइरहेको बताउनुभयो । उहाँले पीडितहरूलाई हिम्मत नहारी निरन्तर अघि बढ्न सुझाव दिनुभयो ।

सांसद राजेन्द्रलक्ष्मी गैरेले जलनसम्बन्धी दीर्घकालीन रणनीति बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

सांसद अम्मरबहादुर थापाले यो विषय संवेदनशील रहेको भन्दै समाजमा जनचेतना फैलाउन आवश्यक रहेको बताउनुभयो ।

अग्निपीडित रेनुका श्रेष्ठले पीडितहरूले समाजबाट तिरस्कार भोग्नुपरेको पीडा सुनाउनुभयो । उहाँले भन्नुभयो, “म अग्निपीडित हो । मैले पनि त्यस्तो समस्या भोगेँ । तर निकै अप्ठ्याराबिच पनि आत्मनिर्भर बन्न सकेकी छु । हामीजस्ता पीडितहरूले उत्पादन गर्ने सामान बजारीकरणका लागि सरकारले सहयोग गर्नुपर्छ ।”

‘बर्न भ्वाइलेन्स सर्भाइभर्सस् नेपाल’का कार्यक्रम व्यवस्थापक श्रीकृष्ण थापाले अग्निजन्य दुर्घटना तथा हिंसा बढेको बताउँदै सरकारले यसलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो ।

बहसमा सहभागी सरोकारवालाहरुले प्रदेश स्तरीय अस्पतालमा जलनको उपचार व्यवस्था राम्रो हुनुपर्ने, पीडितको पुनःस्थापनाका लागि पहल गर्नुपर्ने, जलन उपचार कोषको व्यवस्था गरिनुपर्ने, अस्पतालमा जलन युनिट स्थापना गरिनुपर्ने, पाठ्यक्रममा यस विषयमा समावेश गरिनुपर्ने लगायतका धारणा राख्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button