कावासोती नगरपालिकामा अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस सुरु

नवलपुर। नवलपरासी पूर्वको कावासोती नगरपालिकाले अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस सुरु गरेको छ । कावासोती नगरपालिका प्रमुख विष्णु प्रसाद भुसाल र प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली (सीसीआईएमएस) को माध्यमबाट कावासोती –४ का सिमोन दर्लामी र धड्कन बिक को अनलाइन सिफारिस गरेर अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस कार्य सुरु गर्नुभएको हो । आजबाट कावासोतीका १७ वटै वडामा एकैसाथ अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस सुरु भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले अनलाइन प्रणालीबाट नागरिकता सिफारिस गर्दा झुठा , किर्ते र दोहोरो सिफारिस जस्ता गैरकानूनी कार्य नियन्त्रण हुने बताउनुभयो । उहाँले यस कार्यले प्रशासन कार्यालय , स्थानीय तह र वडा कार्यालय तथा सेवाग्राही समेतको समयको बचत हुनुका साथै , केन्द्रिय अभिलेख व्यवस्थापन , विद्युतीय सुशासनको प्रवर्द्धनमा समेत सहयोग पुग्ने बताउनुभयो । अनलाइन सिफारिस गर्दा त्यहाँ भर्नुपर्ने विवरणहरू नेपालीमा मात्रै रहेकोले अङ्ग्रेजीमा भर्दा स्पेलिङ फरक परेर पर्ने समस्याबाट समेत मुक्त भइने बताउनुभयो । देशमा नै पहिलो पटक नवलपुरको गैँडाकोटबाट यस नवीनतम कार्यको सुरुआत भएको र देवचुली ,मध्यविन्दु नगरपालिका र कावासोती नगरपालिकामा समेत गरी जिल्लाको चार वटा पालिकामा अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस सुरु गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले यो नयाँ प्रविधि भएकाले कुनै जटिलताहरू देखा परेमा माथिल्लो निकायमा सुझाव राख्दै त्यसलाई परिष्कृत र परिमार्जित गर्ने अवसर समेत नवलपुरले प्राप्त गरेको बताउनुभयो । यस प्रणालीबाट नयाँ नागरिकता मात्रै सिफारिस गर्न सकिने उहाँले जानकारी दिनुभयो । अब बाँकी रहेका चार वटा गाउँपालिकामा समेत तालिम प्रदान गरि छिट्टै यो प्रणाली लागू गरिने उहाँले बताउनुभयो ।
कार्यक्रममा बोल्दै कावासोती नगरपालिका प्रमुख विष्णु प्रसाद भुसालले अन्यत्र जिल्लाबाट आएर बसोबास गर्नेहरूको सङ्ख्या बढी भएको जिल्ला नवलपुर पर्ने र कावासोती सदरमुकामको पालिका भएकोले कागजात बनाउने कुरामा किर्ते र झुठा विवरण पेश हुने सम्भावना पनि उत्तिकै रहने हुँदा अबका दिनमा यस्ता समस्याको समाधान गर्न यस कार्यले सहज बनाएको बताउनुभयो । वडामा रहेका सचिवहरूलाई उहाँले विवरणहरू अपलोड गर्दा बुझेर मात्रै गर्न सुझाव समेत दिनुभयो । अहिलेको युग प्रविधिको युग भएकाले त्यसलाई आत्मसाथ गर्दै कावासोती पनि अगि बढेको बताउनुभयो ।

कावासोती चारका वडा अध्यक्ष नारायण लोहनीले आफ्नो वडाबाट यस कार्यको सुरुआत गर्न पाउँदा खुसी लागेको बताउनुभयो । सबैको साझा प्रयासबाट यो कार्य सुरु गर्न सफल भएको उहाँले बताउनुभयो । यस प्रणाली लागू भएपछि सेवाग्राहीले छिटो छरितो रुपमा नागरिकता प्राप्त गर्न सक्छन् भन्नेमा आफू विश्वस्त रहेको उहाँले बताउनुभयो ।
अनलाइनबाट नागरिकता सिफारिस गर्दा अनलाइनबाट अनुसूचीअनुसार सम्पूर्ण विवरण भरेर सेवाग्राहीको जन्मदर्ता, बाबुआमाको नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्र, बसाइँसराइ प्रमाणपत्र, पतिपत्नीको नागरिकता लगायतका प्रमाणपत्रको प्रतिलिपि अनलाइन इन्ट्री गरी जिल्ला प्रशासन कार्यालयमा पठाइने, नगरपालिकाका सूचना प्रविधि अधिकृत रूपेश गिरीले जानकारी दिनुभयो । आवश्यक सबै कागजातहरू यसरी अनलाइन इन्ट्री भएपछि एउटै व्यक्तिको विवरण दुई पटक प्रविष्ट नहुने हुँदा दोहोरो नागरिकता अन्त्य हुने उहाँले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्