तपाईँ सुन्दै हुनुहुन्छः

नीतिगत भ्रष्टाचारलाई उन्मुक्ति दिनुहुँदैन : कानून व्यवसायी

काठमाडौँ । कानुन व्यवसायीहरूले नीतिगत भ्रष्टाचारलाई उन्मुक्ति दिनु नहुने बताउनुभएको छ ।

स्वतन्त्र राष्ट्रिय कानुन व्यवसायी अभियानले आज आयोजना गरेको अन्तरक्रियामा वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठले नेता र सरकारले गरेको नीतिगत भ्रष्टाचारलाई उन्मुक्ति दिनु नहुने बताउनुभयो ।

वरिष्ठ अधिवक्ता श्रेष्ठले सर्वोच्चकै न्यायाधिशले सरकारी सम्पत्ति अनुचित रुपमा लिएर फिर्ता गर्दा कारबाही नभएको भन्दै भ्रष्टाचारमा संलग्न कसैलाई छोड्न नहुने धारणा राख्नुभयो ।

वरिष्ठ अधिवक्ता विष्णुप्रसाद भट्टराईले संवैधानिक त्रुटिकै कारण मुख्य भ्रष्टाचारी उम्कने गरेको र अदालतले समेत त्यस्तालाई उन्मुक्ति दिइरहेको दाबी गर्नुभयो ।

वरिष्ठ अधिवक्ता भट्टराईले पात्र र चरित्र उही रहेसम्म न्यायालयको सुधार हुन नसक्ने बताउनुभयो ।

अख्तियार दुरुपयोग आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले आफूले ललिता निवास प्रकरण तामेलीमा राखेको बताउनुभयो ।

उपाध्यायले आफूलाई बोलाएर सुनियोजित रुपमा पद र आचरण विपरीत बोल्न लगाउन खोजेको भन्दै कार्यक्रमबाट बाहिरिनुभयो ।

स्वतन्त्र राष्ट्रिय कानुन व्यवसायी अभियानले नेपाल बार एसोसिएसनको हलमा ‘न्यायपालिका पुनर्संरचना पहल: भ्रष्टाचारमा किन हुन्छ नेतालाई उन्मुक्ति अरूलाई सजाय’ विषयक अन्तरक्रियाको आयोजना गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button