तपाईँ सुन्दै हुनुहुन्छः

‘अबदेखि श्रमिकले एक घण्टामा नै श्रम स्वीकृति पाउने’

काठमाडौँ । वैदेशिक रोजगारीमा जाने श्रमिकले अबदेखि एक घण्टा भित्रमा नै श्रम स्वीकृति पाउने भएका छन् । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयले कागजपत्र पुगेको अवस्था एक घण्टामा नै सबै खालको श्रम स्वीकृति उपलब्ध गराउने भएको हो । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले श्रमिकले सबै प्रक्रिया पुरा गरी आवश्यक कागजपत्रसहित कार्यालय समयमा अनलाइनबाट आवेदन दिएमा २ मिनेट ४४ सकेण्डमा नै श्रम स्वीकृति प्रदान गर्नसक्ने अवस्था रहेको बताउनुभयो । 

ताहचल कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री अर्यालले प्राविधिक समस्या, विद्युतको आपूर्ति र इन्टरनेटको स्पिडलाई ध्यानमा राखेर एक घण्टमा श्रम स्वीकृति दिनसक्ने अवस्था रहेको बताउनुभयो । उहाँले नीतिगत र प्राविधिक सुधारका साथै कर्मचारीको अथक प्रयासले एक घण्टामा श्रम स्वीकृति उपलब्ध गराउन सम्भव भएको बताउनुभयो । “यो सबै कर्मचारीको मेहनत हो । मलाई उहाँहरूमाथि पुरै विश्वास छ । यो क्रमलाई उहाँहरूले आगामी दिनमा पनि निरन्तरता दिनुहुनेछ,” उहाँले भन्नुभयो ।

मन्त्री अर्यालले पदभार ग्रहण गर्नुभएसँगै श्रम स्वीकृतिको प्रक्रियालाई एक घण्टामा छोट्याउन फेमिसका सफ्टवेयर तथा हार्डवेयरका आपूर्तिकर्ता तथा कर्मचारीलाई निर्देशन दिनुभएको थियो । 

“हाफ पाईन्ट, टिसर्ट र चप्पल लगाएर, मिटर ब्याजमा ऋण लिएर वैदेशिक रोजगारी जानका लागि श्रम स्वीकृति लिन आउने श्रमिकलाई फेरी तीन चार दिन लगाएर अल्झाउने, यो कुनै पनि हालतमा स्वीकार्य छैन । श्रमिक कुनै पनि बहानामा ठगिनु हुँदैन । त्यसैले मेरो पहिलो एजेण्डा श्रम स्वीकृतिको प्रक्रियालाई छिटो गराउनु थियो”, उहाँले भन्नुभयो ।

श्रम स्वीकृति पूर्ण रुपमा निःशुल्क र श्रमिकले आफ्नै मोबाइल वा कम्प्युटरबाट अनलाइन आवेदन दिन सकिने भन्नुहुँदै मन्त्री अर्यालले श्रम स्वीकृति लिन कार्यालय धाइरहनु नपर्ने बताउनु भयो । “सक्नुहुन्छ भने आफै नै मोबाइल वा कम्प्युटरबाट आवेदन दिनुहोस् । आवेदन दिने प्रक्रिया पनि विभागको वेबसाइटमा राखिएको छ,” उहाँले भन्नुभयो । 

एक घण्टामा नै श्रम स्वीकृति प्रदान गर्नका लागि वैदेशिक रोजगार कार्यालयले हाल पुनः श्रम स्वीकृतिलाई एउटै तहबाट स्वीकृति प्रदान गर्न थालेको छ । यसअघिको व्यवस्था अनुसार एउटा तहले कागजपत्र प्रमाणीकरण गर्ने र अर्को तहले स्वीकृति गर्ने व्यवस्था थियो ।हाल वैदेशिक रोजगार व्यवस्थापन सेवा प्रवाह कार्यविधि २०७९ संशोधन गरी एकै तहबाट श्रम स्वीकृति दिने व्यवस्था गरिएको छ । यसले श्रम स्वीकृतिको प्रक्रिया निक्कै सहज बनाएको मन्त्रालयले जनाएको छ । 

त्यस्तै, फेमिस सफ्टवेयर परामर्शदाताका एक जना प्राविधिकलाई विभागमा डेडिकेटेड रुपमा राखिएको मन्त्रालयले जनाएको छ । यसका साथै कर्मचारीहरूले दुई वटा सिफ्टमा परिचालन गरिएको छ । बिहान ७ बजेदेखि बेलुका ९ बजेसम्म गरी कर्मचारीले दुई सिफ्टमा काम गर्दे आइरहेका छन् । 

सार्वजनिक बिदा र शनिवारको दिनमा पनि कर्मचारीलाई परिचालन गरिएको  जानकारी दिनुहुँदै मन्त्री अर्यालले आगामी दिनमा भने कर्मचारीलाई एकै सिफ्टमा कार्यालय समयमा मात्रै काम गर्ने गरी सुधार गरिने बताउनुभयो । “केही समयमा लागि कर्मचारीलाई सिफ्टमा काम गर्न लगाइएको हो । तर, आगामी दिनमा एकै सिफ्टमा कार्यालय समयमा मात्रै काम गर्ने गरी सुधार गर्नेछौँ,” उहाँले भन्नुभयो ।  

कार्यालयले अहिले कर्मचारीलाई प्रत्येक दिन श्रम स्वीकृतिको लागि निश्चित कोटा तोकेको छ । काठमाडौँ कार्यालयबाट बाहेक ६ वटै प्रदेशबाट नयाँ कम्तीमा ५० र पुन श्रम स्वीकृति १ सय वटा टोकनको व्यवस्था गरिएको छ । पहिलो कार्यालयले चाहे जति मात्र टोकन पाउने व्यवस्था थियो । 

श्रम स्वीकृतिको लागि श्रमिकले मुख्य गरी पासपोर्ट, भिसा र रोजगारदातासँगको सम्झौता पत्र पेश गर्नुपर्नेछ । त्यस्तै, श्रमिकले बिमा, कल्याणकारी कोष र सामाजिक सुरक्षा कोषको शुल्क भुक्तानी गरेको हुनुपर्नेछ । श्रमिकलाई सहज रुपमा श्रम स्वीकृति प्रदान गर्न वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार व्यवस्थापन सूचना प्रणाली (फेमिस) सञ्चालनमा ल्याएको हो । अहिले दैनिक औसत एक हजार ६०० जनालाई श्रम स्वीकृति प्रदान गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button