तपाईँ सुन्दै हुनुहुन्छः

खेलकुद मन्त्रीद्वारा नारायणी रंगशालाको स्थलगत निरीक्षण

वीरगन्ज । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले आज वीरगन्जको नारायणी रंगशालाको स्थलगत निरीक्षण गर्नुभएको छ ।

वर्षौँदेखि मर्मत नहुँदा दशरथ रंगशाला पछिको देशकै ठूलो रंगशालाको रुपमा रहेको नारायणी रंगशाला जीर्ण अवस्थामा रहेको भन्दै स्थलगत निरीक्षणको क्रममा खेलकुद मन्त्री श्रेष्ठलाई पुनर्निर्माण गर्न वीरगन्जवासीको तर्फबाट ज्ञापनपत्र समेत बुझाएका छन् ।

नारायणी रङ्गशालामा आयोजित एक कार्यक्रमबिच वीरगन्जका खेलप्रेमी र अगुवाहरूले ज्ञापनपत्र बुझाउँदै नारायणी रंगशालाको जीर्णोद्धार र पुनर्निर्माणका लागि आग्रह गरेका हुन् । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहको उपस्थितिमा पर्सा क्रिकेट संघका अध्यक्ष मनिष सिंह लगायतले वीरगन्जवासीका तर्फबाट मन्त्री श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका थिए ।

२०४२ सालमा वीरगन्जवासीकै अग्रसरतामा १८ बिगाहा क्षेत्रफलमा निर्माण गरिएको नारायणी रंगशाला मर्मत सम्भारको अभावमा वर्षौँदेखि जीर्ण बन्दै गइरहेको छ । झण्डै ३५ हजार दर्शक अटाउन सक्ने क्षमताको रङ्गशालाका प्याराफिटहरु ठाउँ ठाउँमा भत्किएका छन् भने पर्खालहरू पनि जीर्ण अवस्थामा छन् ।

चार वर्ष पहिले राष्ट्रिय खेलकुद परिषद्ले रंगशालाको जीर्णोद्धार र पुनर्निर्माणका लागि डिपिआर बनाएको थियो । त्यसमा २ अर्ब ६४ करोड रुपैयाँ लागत लाग्ने उल्लेख थियो । त्यसपछि सरकारले रंगशालाको पुनर्निर्माणका लागि ७ करोड रुपैयाँ मात्र विनियोजन गरेको थियो । उक्त रकमबाट पुनर्निर्माणको काम सुरु गरिए पनि रकम अभावले दुई वर्षदेखि त्यो काम रोकिएर अलपत्र अवस्थामा छ ।

ज्ञापनपत्र बुझ्दै युवा तथा खेलकुद मन्त्री श्रेष्ठले नारायणी रंगशालाको पुनर्निर्माणका लागि आगामी बजेटमा आवश्यक रकम विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

रंगशालाको स्थलगत निरीक्षणमा मन्त्री श्रेष्ठसँगै राष्ट्रिय स्वतन्त्र पाटीका केन्द्रिय सदस्य तथा सांसद मनिष झा, रास्वपाका नेताहरू मुर्ली जलान, महादेव कुर्मी, शेखर अग्रवाल, दिपराज पटेल, मुकेश पटेल लगायतको सहभागिता रहेको थियो ।

रंगशालाको निरीक्षणपछि आइतबार नै वीरगन्ज महानगरपालिकाको कार्यालयमा पुग्नुभएका खेलकुद मन्त्री श्रेष्ठलाई बीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले स्वागत गर्नुभएको थियो । सो अवसरमा नगर प्रमुख सिंहले समेत नारायणी रंगशालाको जीर्णोद्धार र पुनर्निर्माणका लागि आवश्यक बजेटको व्यवस्थापन गरिदिन आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button