नेपालमा लगानीमैत्री वातावरण बनाउन सरकार क्रियाशील : अर्थमन्त्री पुन
बीरगंज । अर्थमन्त्री वर्षमान पुनले कानुनी जटिलतालाई हटाएर विदेशी लगानी भित्र्याउनका लागि लगानी सम्मेलनको आयोजना गर्न लागिएको बताउनुभएको छ ।
वीरगंजमा आज अर्थतन्त्रमा देखिएको जटिलता र त्यसको निराकरणको लागि आयोजित अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री पुनले एक दर्जनभन्दा बढी कानुन परिमार्जनको प्रक्रियामा रहेको र स्वदेशी तथा विदेशी लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्ने विश्वासको वातावरण निर्माणका लागि सरकार सक्रिय भएको बताउनुभयो ।
अर्थमन्त्री पुनले लगानी सम्मेलनबाट ठुलाभन्दा पनि मझौला लगानीकर्ताहरू बढी आउने र ठूला लगानीकर्ता बजार र परिस्थिति हेरेर आउने हुँदा लगानीमैत्री वातावरण बनाउन सरकार क्रियाशील भएको बताउनुभयो । उहाँले अर्थतन्त्रमा देखिएका समस्याको समाधानमा सरकार जुटिसकेको र आगामी बजेटमा उत्पन्न समस्याको निराकरण गरिने उल्लेख गर्नुहुँदै अर्थतन्त्रमा देखिएको तुवाँलो हट्दै गएको बताउनुभयो ।
उहाँले अर्थतन्त्रमा देखिएको निराशाको कारण धेरै युवाहरू विदेशिएकोमा चिन्ता प्रकट गर्दै नेपालमै बसेर धेरै गर्न सकिन्छ भन्ने आश जगाउनु पर्नेमा जोड दिनुभयो ।
अर्थमन्त्री पुनले स्वदेशमै सम्भावना छ भनेर आशा जोगाउने कामको नेतृत्व अब आफूले लिएको भन्नुहुँदै यसमा उद्योगी व्यवसायी सञ्चारकर्मी सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्