तपाईँ सुन्दै हुनुहुन्छः

आर्थिक सङ्कटमा माडीको दराई सामुदायिक होमस्टे

चितवन  । गुरुङ, बोटे, थारु समुदायको होमस्टे फष्टाइरहेको बेला चितवनको माडी नगरपालिका वडा नं–५, रमाइलोडाँडामा रहेको दराई सामुदायिक होमस्टे आर्थिक सङ्कटमा परेको छ । आर्थिक मन्दीका कारण पाहुना आउन छाडेपछि दराई होमस्टे सङ्कटमा परेको हो । माडी नगरपालिकाले कबुल गरेको पाँच लाख रुपैयाँ अनुदान नदिएपछि होमस्टे सञ्चालकहरू ऋणमा डुबेका छन् । सो नगरपालिकाले प्रतिहोमस्टे पाँच लाख रुपैयाँ दिने सहमति भएको थियो ।

नगरपालिकाको कार्यालयबाट करिब एक किलोमिटर मात्र दक्षिणमा रहेको सो होमस्टे पर्यटन आगमनमा न्यून, होमस्टेको क्षमता कम, र सांस्कृतिक भवनको अभावका कारण सञ्चालनमा कठिनाइ भएको हो । ‘दराई होमस्टेमा अहिले पर्यटक आउनै छाडेका छन् । दैनिकरुपमा पर्यटक आउँदैनन् । हप्तामा तीन÷चार जनामात्र पर्यटक आउँछन्, दराई होमस्टे सञ्चालन समितिकी अध्यक्ष भुवानी दराईले भन्नुभयो, ‘त्यसले खर्च धान्ने अवस्था छैन ।’

२०७७ सालमा सञ्चालनमा आएको सो होमस्टेमा चार परिवारको मात्र संलग्नता छ । चारवटा होमस्टेमा २५ जनासम्म राख्न सक्ने क्षमता रहेको छ । समूहमा आउने भ्रमण टोलीलाई राख्न सक्ने अवस्था नरहेको उहाँले बताउनु भयो  । ‘एकपटक आएर फर्किनु परेपछि दोस्रोपटक मान्छे आउँदैनन्, अध्यक्ष दराईले भन्नुभयो, ‘त्यो क्रम लामो समय चल्यो, बिस्तारै पाहुना आउनै छोड्नुभयो ।’ परिवारसहित घुम्न आउनेलाई उपयुक्त भए पनि समूहमा आउनेलाई राख्न नसकिएको उहाँको भनाइ छ ।

रमाइलोडाँडामा दराईहरु १५० घरधुरी रहेका छन् । होमस्टेको सङ्ख्या थप गरेर सांस्कृतिक भवन निर्माण नगरेसम्म सञ्चालन गर्न कठिनाइ भएको छ । दराई समुदायले होमस्टे निर्माणका लागि ११ लाखदेखि २५ लाखसम्म लगानी गरेका छन् । २५ लाख खर्च गरेर होमस्टे सञ्चालन गरेकी दीपा दराईले होमस्टेमा गरेको लगानीले ऋणको भारी बोक्नु परेको बताउनु भयो ।

‘होमस्टे बनाउने सोचमा हामी थिएनौँ, नगरपालिकाले पाँच लाख दिने सहमति भएपछि बनाएका हौँ’, उहाँले भन्नुभयो ‘नगरपालिकाले पैसा दिएन, अहिले ऋण लाग्यो ।’ २५ लाख खर्चेर सञ्चालन गरेको होमस्टेबाट तीन वर्षमा तीन लाख पनि कमाउन नसकेको उहाँले बताउनु भयो । ‘ऋण खोजेर होमस्टे बनायौँ’, उहाँले भन्नुभयो ‘अहिले ब्याज तिर्ने पैसा पनि आम्दानी भएन ।’

दीपाले ऋण तिर्न नसकेर होमस्टे बेच्ने योजना बनाउनु भएको छ । श्रीमान्, छोरा र छोरीलाई विदेश पठाउने योजना बनाउनु भएको उहाँले होमस्टेबाट कमाएर ऋण तिर्न सक्ने अवस्था नरहेको बताउनु भयो । ‘श्रीमान् र छोरीलाई छिट्टै विदेश पठाउँदै छु’, उहाँले भन्नुभयो, ‘बाबुको पढाइ बीचमै रोकेर केही महिनापछि उसलाई पनि पठाउँछु ।’

होमस्टे व्यवस्थापन समितिकी अध्यक्ष भुवानी दराईले स्तरोन्नति गर्न नसके होमस्टे बन्द गर्नुको विकल्प नरहेको बताउनु भयो  । ‘केपी शर्मा ओली नेतृत्वको सरकारले माडीमा राम मन्दिरको मूर्ति स्थापना गर्दा ताका पर्यटक खचाखच थिए’, उहाँले भन्नुभयो, ‘एक वर्षयता पर्यटक आउनै छोड्नुभयो ।’ सांस्कृतिक भवनको अभावका कारण लोभलाग्दो दराई संस्कृति पर्यटकलाई देखाउन नपाउँदा पर्यटक आकर्षित गर्न नसकिएको उहाँको भनाइ छ ।

माडीमा अयोध्यापुरी सामुदायिक मगर होमस्टे, बोटे सामुदायिक होमस्टे, थारु सामुदायिक होमस्टे, दराई सामुदायिक होमस्टे, माडी भ्यू होमस्टे, दुरा सामुदायिक होमस्टे सञ्चालनमा रहेका छन् ।

नगरस्तरीय होमस्टे व्यवस्थापन समितिका अध्यक्ष तुलाबहादुर पुनमगरले पर्यटक आगमनमा कमी भएपछि नगरभित्रका होमस्टेहरूमा खर्च पनि धान्न सक्ने अवस्था नरहेको बताउनु भयो । ‘माडी आउँदा होमस्टेमा बस्ने प्रचलन सुरु भएको छ’, उहाँले भन्नुभयो ‘तर होमस्टेको सङ्ख्याअनुसार पाहुना आउन छोड्नुभयो ।’

माडी नगरपालिकाकी मेयर ताराकाजी कुमारी महतोले अघिल्ला जनप्रतिनिधिको पालामा नगरपालिकाबाट दराई होमस्टेलाई बजेट प्रदान गर्ने निर्णय कार्यान्वयन भएको आफूले नपाएको बताउनु भयो । नगरभित्र रहेका अन्य होमस्टेको तुलनामा दराई होमस्टे अपहेलनमा परेको स्वीकार गर्दे मेयर महतोले सञ्चालनका लागि सानो–सानो सहयोग गर्दै आएको उहाँको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button