तपाईँ सुन्दै हुनुहुन्छः

नवलपरासीमा चेक बाउन्सका उजुरी बढ्दो

नवलपरासी,पश्चिम् । पश्चिम् नवलपरासीमा चेक अनादर (बाउन्स)का उजुरी बढेको छ ।अघिल्लो आर्थिक वर्षमा २० वटा उजुरी परेकोमा आर्थिक बर्ष ८०/८१ मा ५७ वटा उजुरी जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका छन् ।

जिल्लाबाटै चेक अनादरको मुद्दा किनारा लाग्ने भएसँगै उजुरीको सङ्ख्या बढेको प्रहरी नायव उपरिक्षक रेशम बोहोराले जानकारी दिनुभयो ।उजुरीको सङ्ख्या बढेसङै प्रहरी कार्यालयमा कामको चाप समेत बढेको छ ।

सरकारले सीमित अदालतले हेर्दै आएको मुद्दामा जिल्ला अदालतमै सुरु, कारबाही र किनारा हुनेगरी निर्णय गरेपछि उक्त मुद्दाका काम, कारबाहीमा पीडित तथा सम्बद्ध अधिकारीका लागि निरुपणका निम्ति सहज बनेको हो ।

खातामा पर्याप्त मौज्दात नभईकन पनि जानाजान चेक काटेर तीन पटक सम्ममा भुक्तान नभए चेक बाउन्सको प्रक्रिया अघि बढ्ने गर्दछ ।जिल्ला बाटै चेक बाउन्सको उजुरी को कारबाही प्रक्रिया अघि बढाउनका निम्ति सम्बन्धित जिल्लाकै बैङ्कको चेक हुनु पर्ने छ ।१० लाख भन्दा माथिको चेक बाउन्स भएमा त्यसको श्रोतका बारेमा समेत अनुसन्धान हुने डिएसपी बोहोराले जानकारी दिनुभयो ।

बैङ्किङ कसुर तथा सजाय ऐन, २०६४ को दफा १७ को उपदफा (१) बमोजिम सोही ऐनको दफा ३ को खण्ड (ग) बमोजिमको कसुरको सुरु, कारबाही र किनारा गर्ने अधिकार सबै जिल्ला अदालतलाई तोक्ने मन्त्रिपरिषद्ले निर्णय गरेको थियो ।

यता चेक बाउन्सको विषय उच्च अदालतमा मात्रै चल्ने गरेकामा अब मन्त्रिपरिषद्को निर्णयले जिल्लामै मुद्दा दर्ता गर्न पाउने व्यवस्था भएपछि उच्च अदालत धाउनुपर्ने समस्या हट्दा नागरिकलाई समेत निकै सहज भएको छ ।

उजुरी सँगै जिल्लामा मिलापत्रका लागि समेत निवेदन पर्ने गरेका छन् ।हाल सम्म १५/१६ वटा मिलापत्रका लागि निवेदन आएको प्रहरी कार्यालयले जनाएको छ ।आर्थिक मन्दीका कारण पनि चेक बाउन्सका उजुरी बढेको हुन सक्ने आकलन गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button