भरतपुर मेयर्स कप ब्याडमिन्टनको उपाधि आर्मीका पविन र प्रफुलको जोडीलाई
चितवन । चितवनको भरतपुर–१०, स्थित कवर्ड हलमा सम्पन्न ‘प्रथम भरतपुर मेयर्स कप अन्तर्राष्ट्रिय आमन्त्रित ब्याडमिन्टन प्रतियोगिता–२०८०’ खुल्लातर्फको उपाधि त्रिभुवन आर्मी क्लबका (टिएसी)का पविन लिङथेप र प्रफुल महर्जनको जोडीले जितेको छ ।

फाइनल प्रतिस्पर्धामा सशस्त्र प्रहरी बल एपिएफ क्लबका प्रिन्स दाहाल र विजित थापा मगरलाई आर्मीका पविन र प्रफुलको जोडीले २१–५ र ८–२ ले पराजित गर्यो । प्रिन्सको जोडीले दोस्रो सेटमा ८–२ को अवस्थामा वाकओभर दिएपछि आर्मीको टिमले उपाधि जित हात पारेको हो ।
यसैगरी टप २० र्याङकिङ बाहेकका खुल्ला पुरुष प्रतिस्पर्धाको उपाधि धादिङ र लमजुङका रमेश मल्ल ठकुरी र सुजन थापाको जोडीले जितेको छ । फाइनलमा बालकुमारी रेमिक्स क्लबका ससिन डङ्गोल र सुमन शाक्यको जोडीलाई २१–१५ र २१–१९ को सोझो सेटमा पराजित गर्दै ठकुरी र थापाको जोडीले उपाधि जितेको हो ।
यसैगरी भेट्रान ४५ प्लस विधाको उपाधि तनहुँ र कास्कीका देव गुरुङ र शम्भु कुमार श्रेष्ठको जोडीले जितेको छ । निकै प्रतिस्पर्धात्मक फाइनलमा कुस्मा र पिएफसीका प्रेम गुरुङ र सञ्जय कपालीको जोडीलाई २–० को सोझो सेटमा पराजित गरेको हो । गुरुङ र श्रेष्ठको जोडीले पहिलो सेट २१–१८ जितेको थियो भने निकै प्रतिस्पर्धात्मक बनेको दोस्रो सेट २९–२७ ले सङ्घर्षपूर्ण जित निकालेको थियो ।
त्यसैगरी भेट्रान ५५ प्लस विधाको उपाधि भने चितवनका बुद्धि चौधरी र धादिङका विष्णुलाल श्रेष्ठको जोडीले जितेको छ । फाइनलमा फिटनेशन पार्कका दिलबहादुर कन्दङवा र उमेश केसीको जोडीलाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । चौधरी र श्रेष्ठको जोडीले पहिलो सेट २१–१६ र दोस्रो सेट २१–१३ ले जितेको थियो ।
यसैगरी अन्तिम विधा रहेको चितवन ‘सी’ लेभलको उपाधि पूर्वी चितवनका ईश्वर आलेमगर र निश्चल भट्टको जोडीले जितेको हो । फाइनलमा चितवनका यमबहादुर गुरुङ र सूर्य आचार्यको जोडीलाई २–१ को सेटमा पराजित गर्यो ।
यस विधामा चितवनका प्रकाश डल्लाकोटी, दिवस श्रेष्ठ र बेलु श्रीस, शैलेन्द्र प्रधानाङ्गको जोडी तेस्रो स्थान हासिल गरेको चितवन जिल्ला ब्याडमिन्टन संघका कोषाध्यक्ष खुस गुरुङले जानकारी दिनुभयो ।
विजेताहरूलाई समापन समारोहका प्रमुख अतिथि बागमती प्रदेशका सांसद ईश्वर सापकोटा ‘सुमन’ले पुरस्कार वितरण गर्नुभएको थियो । समापन समारोह भरतपुर महानगरपालिका नगर खेलकुद विकास समितिका संयोजक विकास श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।
प्रतियोगितामा कुल पाँच इभेन्टका खेलहरू भएका थिए । भरतपुर भ्रमण वर्ष २०२४ को अवसर पारेर भरतपुर महानगरपालिका नगर खेलकुद विकास समितिको आयोजना, चितवन जिल्ला ब्याडमिन्टन सङ्घको सह–आयोजना, नेपाल ब्याडमिन्टन सङ्घको प्राविधिक सहयोग र चितवन जिल्ला खेलकुद विकास समितिको संरक्षकत्वमा प्रतियोगिता भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्