तपाईँ सुन्दै हुनुहुन्छः

दण्डपाणि-नन्दकुमारी राष्ट्रिय पुरस्कार सीमाविद् बुद्धिनारायण श्रेष्ठलाई

काठमाडौँ । ‘दण्डपाणि -नन्दकुमारी अर्ज्याल राष्ट्रिय पुरस्कार’ यस वर्ष वरिष्ठ सीमाविद्  बुद्धिनारायण श्रेष्ठलाई अर्पण गरिने भएको छ ।

यही चैत्र १६ गते काठमाडौँमा वरिष्ठ ई ईश्वरचन्द्र बानियाको अध्यक्षतामा बसेको दण्डपाणि अर्ज्याल स्मृति केन्द्रकाे कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो।

स्मृति केन्द्रले इतिहास, साहित्य, संस्कृति, ज्योतिष, समाज सेवा लगायतका विविध विषयहरूमा राष्ट्रियस्तरमा योगदान दिएका विद्वान् विदुषीलाई प्रत्येक वर्ष पुरस्कार समर्पण गर्दै आएको छ ।

यस वर्ष नेपालको सीमा र सुरक्षा विषयमा गहन अनि महत्त्वपूर्ण योगदान पुर्‍याउनुभएका वरिष्ठ सीमाविद् बुद्धिनारायण श्रेष्ठलाई ५० हजार रुपैयाँ राशिको उक्त पुरस्कार प्रदान गरिने भएको हो ।

केन्द्रले यही चैत्र महिनाभित्र एक समारोहका बीच सम्मान अर्पण गर्ने केन्द्रका महासचिव कपिलचन्द्र खनालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

गोरखामा जन्मिनुभएका विद्वान् प्रतिभा दण्डपाणि अर्ज्यालको नाममा काठमाडौँमा स्थापित दण्डपाणि अर्ज्याल स्मृति केन्द्रले २०६३ सालदेखि प्रदान गर्दै आएको छ ।

केन्द्रले यसअघि ज्ञानमणि नेपाल, मदनमणि दीक्षित, प्रा डा तुलसीराम वैद्य, प्रा दिनेशराज पन्त, सत्यमोहन जोशी, प्रा.डा. सुरेशराज शर्मा, प्रा.डा. सुरेन्द्र केसी, साहित्यकार पुण्यरश्मि खतिवडा, डा. मोदनाथ प्रश्रित, विदुषी रमा शर्मा, प्राज्ञ विष्णु प्रभात लगायतलाई पुरस्कृत गरिसकेको छ।

स्व.दण्डपाणि अर्ज्याल इतिहास, ज्योतिष, संस्कृत, धर्मशास्त्र र समाजशास्त्रका ज्ञाता हुनुहुन्थ्यो भने स्व.नन्द कुमारी उहाँकी धर्म पत्नी हुनुहुन्थ्यो। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button