तपाईँ सुन्दै हुनुहुन्छः

नेपालमै पहिलो पटक ‘दलित ज्ञान उत्सव’ सम्पन्न

बुटवल । नेपालमै पहिलो पटक ‘दलित ज्ञान उत्सव’ कार्यक्रम सम्पन्न भएको छ । दलित समुदायका कला, सीप र संस्कृतिबारे ज्ञान आदानप्रदान गर्ने उद्देश्यले ‘दलित रिडर’ र ‘तिलोत्तमा नगरपालिका’को संयुक्त आयोजनामा चैत्र १४ गतेदेखि १६ गतेसम्म रुपन्देहीको तिलोत्तमामा कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा विभिन्न २ दर्जन भन्दा बढी विषयमा बहस तथा छलफल गरि जातकै कारण दलित समुदायका कला, ज्ञान र सिप ओझेलमा परेको र उनीहरूका कला सीपको प्रवर्द्धन हुन सके बढ्दो बेरोजगारीको समस्या समाधान हुने निष्कर्ष निकालिएको छ ।

दलित ज्ञान उत्सव कार्यक्रमले विभेदका विरुद्ध सकारात्मक सन्देश दिएको विकास अर्थशास्त्री तथा दलित रिडरका सल्लाहकार सुभाष नेपालीले बताउनुभयो ।

कार्यक्रममा दलित रिडरका सल्लाहकार तथा दलित अध्येता शिवहरि ज्ञवालीले नेपालको कृषि दलितकै ज्ञान, सीप र कलामा निर्भर रहेको भन्दै गैर दलित समुदायले विभेद अन्त्यका लागि पहल गर्नुपर्ने बताउनुभयो ।

तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँडले आफ्नै भूमिमा पहिलो पटक दलितहरू ज्ञान उत्सव कार्यक्रम सम्पन्न हुनु ऐतिहासिक कार्य बताउनुभयो । उहाँले दलितलाई सम्मान गर्नु नै उनीहरूको कलाको सम्मान हुने भएको भन्दै तिलोत्तमा नगरपालिकाले यसका लागि ठोस पहल गरिरहेको बताउनुभयो ।

फलामलाई पगालेर त्यसलाई आकार दिनु, भान्सादेखि खेतसम्मका औजारहरू निर्माण गरेर समाजलाई आजको अवस्थासम्म ल्याई पुर्‍याउनु दलित समुदायको कलामा आधारित सबैभन्दा महत्वपूर्ण योगदान हो । यो कला विज्ञानसँग सम्बन्धित छ । यसर्थ दलितहरू ऐतिहासिक वैज्ञानिक हुन् ।

अछुत भनिने दलितहरूको ओझेलमा पर्दै गएको कला, सीप र संस्कृतिलाई प्रवर्द्धन गर्न दलित ज्ञान उत्सव कार्यक्रम सफल भएको दलित रिडरका अध्यक्ष रुक्मिणी नेपालीले बताउनुभयो । कार्यक्रमले विभेदका विरुद्धमा सकारात्मक सन्देश दिएको भन्दै उहाँले यस्ता कार्यक्रम देशैभरि सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button