स्वास्थ्य क्षेत्रको गुणात्मक सुधारका लागि बजेट वृद्धि गर्न आवश्यक : उपप्रधानमन्त्री यादव

जनकपुरधाम । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रको गुणात्मक सुधारका लागि बजेट वृद्धि गर्नुको कुनै विकल्प नभएको बताउनुभएको छ ।
प्रादेशिक अस्पताल जनकपुरधाममा अमेरिका सरकारको लगानीमा निर्माण भएको सुविधा सम्पन्न बर्थिङ सेन्टरको आज उद्घाटन गर्नुहुँदै उपप्रधानमन्त्री यादवले पछिल्लो समय स्वास्थ्य क्षेत्रमा धेरै सुधार भएपनि अझै धेरै सुधारको आवश्यकता रहेको बताउनुभयो ।
उहाँले नेपालको स्वास्थ्य क्षेत्रको सुधारका लागि विभिन्न जिल्लाहरूमा पूर्वाधार निर्माणमा अमेरिका सरकार गरेको योगदानको सराहना गर्नुभयो ।
उपप्रधानमन्त्री यादवले बर्थिङ सेन्टर निर्माणले प्रादेशिक अस्पताल जनकपुरधामलाई प्रसूति सेवाको गुणस्तरमा सुधार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

स्वास्थ्य मन्त्री यादवले स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा दिनका लागि चिकित्सकहरूको बढी सहयोगको खाँचो भएको बताउनुभयो ।
मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शत्रुधन प्रसाद सिंहले मधेश सरकारको गौरवको योजनाको रुपमा रहेको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत रहेको प्रादेशिक अस्पताल जनकपुरधामको सेवा सुधारमा नव निर्मित स्वास्थ्य संरचनाले ठूलो मद्दत पुग्ने बताउनुभयो ।
मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री केशव रायले प्रादेशिक अस्पतालको सेवा सुधारमा नव निर्मित बर्थिङ सेन्टरले मद्दत पुग्ने बताउनुभयो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सीमित स्रोत र साधनका बीचमा स्वास्थ्य क्षेत्रमा सुधार गर्दै लगेको बताउनुभयो ।
मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा.प्रमोद कुमार यादवले मधेश प्रदेशको स्वास्थ्य क्षेत्रमा पछिल्लो समयमा धेरै सुधार भएको र अगामी दिनमा सुधारको प्रयास जारी नै रहेको बताउनुभयो ।
नेपालका लागि अमेरिकाका राजदूत डिन थम्सनले नेपालको स्वास्थ्यसहित विकासका अन्य क्षेत्रमा अमेरिका सरकारको सहयोग निरन्तर रुपमा जारी रहने बताउनुभयो ।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा.अंकुर साहको अध्यक्षतामा भएको कार्यक्रममा वक्ताहरूले प्रादेशिक अस्पताल जनकपुरधाममा प्रसूति गराउनेको अत्यधिक चाँप रहने गरेकाले नयाँ वर्थिङ सेन्टरको निर्माणले मद्दत पुग्ने बताउनुभयो ।
जनकपुरधाममा अमेरिका सरकारको १४ करोडको लगानीमा ७५ शय्याको सुविधा सम्पन्न बर्थिङ सेन्टरको निर्माण भएको हो । दुई तल्लाको नवनिर्मित भवनमा वर्थिङ अन्तगतका लागि आवश्यक पर्ने सबै प्रकारको सुविधाहरू रहेको छ ।
प्रादेशिक अस्पतालका निर्देशक डा.रामनरेश पण्डितले वर्थिङ सेन्टरको निर्माणपछि सोही ठाउँबाट प्रसूतिका सबै सेवा प्रदान गरिने बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्