तपाईँ सुन्दै हुनुहुन्छः

उपप्रधानमन्त्री लामिछाने र नेपालका लागि इजरायलका राजदूतबिच शिष्टाचार भेट

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र नेपालका लागि इजरायलका राजदूत हनान गोदरबीच शिष्टाचार भेट भएको छ । भेटमा राजदूत हनान गोदरले गृहमन्त्री नियुक्त हुनु भएकोमा लामिछानेलाई बधाई ज्ञापन गर्नुभयो।

उहाँहरुबीच नेपाली नागरिकको इजरायलमा हालको अवस्था, नेपाली विद्यार्थीका लागि छात्रवृत्ति, साथै विपिन जोशीको सुरक्षित नेपाल फर्काई लगायतका विविध विषयमा छलफल भएको थियो।

राजदूत गोदरले विपिन जोशीको अवस्थाबारे इजरायल सरकार पनि चिन्तित रहेको भन्दै जोशीसहित ज्यान गुमाउने १० जना नेपालीको परिवारलाई इजरायल सरकारले राहत स्वरूप भत्ता उपलब्ध गराउन थालेको जानकारी दिनुभयो।

गृहमन्त्री लामिछानेले इजरायल र प्यालेस्टाइनबीच द्वन्द्वको शान्तिपूर्ण समाधान होस् भन्ने कामना गर्नुभयो।

उहाँहरुबीच कृषि, सूचना प्रविधि, रोजगारी सिर्जना लगायत क्षेत्रमा सहकार्य र नेपाल-इजरायलको सम्बन्ध विस्तार र सुदृढका लागि थप सहकार्यबारे पनि छलफल भएको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button