उद्यमशीलता रोज्दै जुम्लाका ग्रामीण महिला

जुम्ला । प्रायः घरधन्दा र मेलापातमा व्यस्त हुने ग्रामीण महिलाहरू उद्यमशीलता रोज्न थालेका छन् । आयआर्जन वृद्धि र सानोतिनो कामका लागि पनि श्रीमानकै भर पर्ने बाध्यताको अन्त्य गर्न जुम्लाका ग्रामीण महिला उद्यमशीलता रोज्न थालेका हुन् ।
तिला गाउँपालिका–७ तुहीगाउँकी २४ वर्षीया रमिता रावत रावत घरेलु हिंसा पीडित महिला भएपनि उद्यमशीलता मार्फत आफ्ना पीडा र अभाव कम गर्ने प्रयासमा छन् । सम्बन्ध विच्छेदपछि आर्थिक सामाजिक र मानसिक तनाव खेपिरहेकी रमिता आजभोलि सिकाई कटाईमा व्यस्त छन् ।
सिप सिकेर आयआर्जन वृद्धि गर्ने उनको दृढ सङ्कल्प छ । अहिले सिप सिकी रहेकी छु । पछि आफ्नै व्यवसाय चलाउने सोच छ । उहाँले भन्नुभयो, ‘केही समय श्रीमानको पिडा र आर्थिक अभाव झेले । पहिला पनि बेसिक सिलाई कटाई सिकेको थिए । किर्डाक नेपालले अहिले सञ्चालन गरेको एड्भान्ड सिकाई कटाई तालिममा सिकिरहेको छु । तालिम पछि आफ्नै व्यवसाय सञ्चालन गर्ने आँट पनि आएको छ ।’

रमिता जस्तै घरधन्दाबाट फुर्सद नपाउने तिला गाउँपालिका–७ पोख्री गाउँकी २७ वर्षीया जौकली रोकाया पनि सिकाई कटाई मै रमाई रहेकी छन् । उहाँ शारीरिक रुपमा अशक्त छन् उहाँको बायाँ आँखा दृष्टिविहीन हुन् ।
सिलाई कटाई सिप सिकिरहेकी जौकली दृष्टिविहीन भएपनि उद्यमशीलता अघि बढ्ने दृढता भने बढ्दै गएको छ । सिप सिकेर आयआर्जन गरी जीविकोपार्जन गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । सिप सिकेर गाउँमै यही व्यवसाय गरेरै जीविकोपार्जन गर्ने,दुई वटा छोरा छोरीको लालन पालन गर्ने सपना बुनी सकेको छु । उहाँले भन्नुभयो,‘घरको उत्पादनले ४/५ महिना भन्दा बढी पुग्दैन । श्रीमानले कालापहाड नगरी नुन तेल लुगा फाटो फेरिन्न । मैले सिप सिकेर सानो व्यवसाय सुरु गरेपनि सहज हुने आशा छ ।’
रमिता र जौकली जस्तै अभाव र तनाव खेपी रहेका ग्रामीण महिला सबै भुलेर उद्यमशीलतामा होमिन थालेका छन् । आर्थिक अभाव झेल्दै आएका तिलाका १८ विपन्न महिलाहरू यतिबेला सिलाईकटाईको एडभान्स तालिम लिइरहेका छन् ।

विपन्न ग्रामीण महिलालाई उद्यमशीलतामा जोड्ने उद्देश्यका साथ किर्डाक नेपाल, वल्र्डभिजन र गाउँपालिका समन्वयमा ४५ दिने सिलाईकटाई तालिम सञ्चालन गरिएको किर्डाक नेपाल जुम्लाका जिल्ला संयोजक दिपराज रावतले बताउनुभयो ।
पारिवारिक, सामाजिक रुपमा बहिष्कृत भएका महिलालाई उत्पादन तथा आयआर्जनसँग जोड्न हामीले सिपमूलक तालिम सञ्चालन गरेका छौ । उहाँले भन्नुभयो,‘सिप सिकेका महिलालाई उद्यमशीलतामा जोड्ने स्थानीय सरकारले आवश्यक पुँजी दिन जरुरी छ । किर्डाकले पनि विपन्न युवा युवतीलाई आवश्यक पुँजी सहयोग गर्ने छ । सिपलाई व्यवहारमा कार्यान्वयन गर्न जरुरी छ ।’
यसैबीच किर्डाक नेपाल जुम्लाले सिप सिकेर स्वरोजगार बन्न चाहनेलाई सहकारीमार्फत सहुलियत ऋण उपलब्ध गराउन चन्दननाथ सहकारी १२ लाख रकम अनुदान उपलब्ध गरिएको छ ।
सिलाईकटाईसँग, कुकिङ, अटो वर्कसप, मोबाइल मर्मत, पम्बिङ, हाउस वाइरिङ, फर्निचरका न्यूनतम एक महिनादेखि ४५ दिनसम्मका सीप सिकाउने तालिम सञ्चालन गरिएको छ । करिब ८० जना युवाले सीप सिकिरहेका छन् । विभिन्न तालिमको जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य,तातोपानीका अध्यक्ष नन्द प्रसाद चौलागाई,प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे लगायतले अनुगमन गरेका छन् ।
सीप सिकेर स्थानीयस्तरमै उद्यमशीलतामा लाग्नु पर्ने जिसस प्रमुख गौरीनन्द आचार्यले बताउनुभयो । उहाँका अनुसार खेतीयोग्य जग्गाजमिन बाँझो राखेर रोजगारका लागि बिदेसिने प्रवृत्तिको अन्त्य गर्नुपर्छ ।
तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले सिप सिकेका,विदेशबाट फर्केका युवालाई गाउँमै उद्यमशीलता गर्न चाहेमा आवश्यक पुँजी लगानी गर्ने नीति बनाइने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्