तपाईँ सुन्दै हुनुहुन्छः

हुम्लामा ८२ प्रतिशत बालबालिकाले लगाए खोप

हुम्ला। हुम्लामा ८२ प्रतिशत बालबालिकाले दादुरा–कुबेलाविरुद्धको खोप लगाएका छन् । सातवटा स्थानीय तह रहेको जिल्लामा गत फागुन २५ देखि यही चैत ७ गतेसम्म दादुरा–कुबेलाविरुद्धको खोप अभियान सञ्चालन गरिएको थियो । जिल्लामा एक सय सात खोप केन्द्र तोकिए पनि एक सय ६ खोप केन्द्रबाट दादुरा कुबेलाविरुद्धको खोप अभियान सञ्चालन गरिएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेम सिंहले बताउनुभयो ।ती खोप केन्द्रमा पाँच हजार एक सय आठ बालबालिकाले खोप लगाएका उहाँले  बताउनुभयो । 

हुम्लामा नौ महिनामाथि र पाँच वर्षमुनिका बालबालिकाको सङ्ख्या ६ हजार दुई सय १२ रहेको छ । बालिकाको सङ्ख्या दुई हजार चार सय ७७ तथा बालकको सङ्ख्या दुई हजार पाँच सय २३ रहेको छ । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको लिमी र सर्केगाडका केही बालबालिका खोप लगाउनबाट छुटेका भए पनि लक्ष्यअनुसार खोप लगाएको प्रमुख सिंहले बताउनुभयो । जिल्लाका १८ प्रतिशत बालबालिका दादुरा–कुबेलाविरुद्धको खोप लगाउनबाट वञ्चित छन् । जिल्लाको लिमीका ५४ बालबालिकाले दादुरा–कुबेलाविरुद्धको खोपका साथै अन्य नियमित खोपसमेत लगाउन पाएका छैनन् ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button