तपाईँ सुन्दै हुनुहुन्छः

‘विद्यार्थीको व्यक्तित्व विकासका लागि मनोविज्ञान बुझ्न जरुरी’

धुलिखेल । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले शिक्षकहरूले आफ्नो व्यावसायिक दक्षतामा विशेष ध्यान दिन आवश्यक रहेको बताउनुभएको छ ।

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन काभ्रेपलाञ्चोक जिल्ला समन्वय समितिले आज बनेपामा आयोजना गरेको ‘प्रथम जिल्ला परिषद् तथा शिक्षक सम्मान’ कार्यक्रममा उहाँले विद्यार्थीको व्यक्तित्व विकासका लागि उसको मनोविज्ञान, सर्वाङ्गीण विकास र परिवारको अवस्था बुझेर ज्ञान दिन आवश्यक रहेको बताउनुभयो ।

उपाध्यक्ष सापकोटाले अहिलेका राजनीतिक दलहरूबीच भएको साझा सहयात्रा गठबन्धन नभएर समीकरण भएको बताउनुभयो । अहिलेको राजनीतिक समीकरणले नागरिकमा पहिलाको भन्दा अझ बढी खुसी र आशा पलाएको पाएको उहाँको दाबी थियो ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं काभ्रेपलाञ्चोक जिल्ला इन्चार्ज तेजबहादुर मिजारले सङ्गठनलाई मजबुद बनाउने काममा केन्द्रित हुन शिक्षकहरूलाई आग्रह गर्नुभयो । प्रथम जिल्ला परिषद्ले अब नयाँ ढङ्गले शिक्षकहरू अगाडि बढ्ने खालको कार्यदिशा र कार्ययोजना ल्याउन आवश्यक रहेकामा उहाँले जोड दिनुभयो ।

माओवादी केन्द्र बागमती प्रदेश कमिटीका सचिव तथा खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले राष्ट्रिय उत्पादनमा केन्द्रित हुनका निम्ति र नेपालीको भविष्य नेपालमा नै छ भनेर दिशानिर्देश गर्नका लागि शिक्षकहरूले भूमिका खुल्नुपर्नेमा जोड दिनुभयो ।

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका जिल्ला अध्यक्ष चेतबहादुर लामाले पालिका स्तरमा त्यहाँका नेतृत्वले शिक्षकहरूमाथि राजनीतिक दृष्टिकोणले हेर्ने र विभेद गर्ने अवस्था भोग्नुपरेको भन्दै त्यसबाट मुक्त हुन आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा सङ्गठनमा आबद्ध भई शिक्षण पेसामा लागेर सेवा निवृत्त हुनुभएका र दीर्घ सेवा प्रदान गरिरहनुभएका एक सय सात शिक्षकलाई दोसल्ला र सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button