झापामा २५ जना बालबालिकामा क्षयरोग

झापा । झापामा १४ वर्षमुनिका २५ बालबालिकामा क्षयरोगको सङ्क्रमण देखिएको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा फेला परेका नयाँ क्षयरोगी मध्ये २५ जना बालबालिका रहेका छन् । साउनदेखि पुस मसान्तसम्म पाँच सय ७० जना नयाँ क्षयरोगी फेला परेका भन्दै तीमध्ये २५ जना बालबालिका रहेका जिल्लास्थित स्वास्थ्य कार्यालयका क्षयरोग फोकल पर्सन वीरेन्द्र दासले जानकारी दिनुभयो । उहाँका अनुसार नयाँ क्षयरोगीमा एक सय ८२ महिला र तीन सय ८८ पुरुष रहेका छन् ।
चार सय ३१ जनामा फोक्सोसम्बन्धी क्षयरोग देखापरेको छ भने एक सय ३९ मा अन्य क्षयरोग देखिएको फोकल पर्सन दासले बताउनुभयो । उहाँका अनुसार एचआइभी सङ्क्रमित नौ जनामा क्षयरोग देखिएको छ । औषधि प्रतिरोधी क्षयरोगका बिरामी सात जना रहेका स्वास्थ्य कार्यालय झापाले जनाएको छ । जिल्लामा आर्थिक वर्ष २०७७र७८ मा नौ सय ९२, आव २०७८र७९ मा एक हजार एक सय ८६ र आव २०७९र८० मा एक हजार एक सय ६५ जना क्षयरोगी फेला परेका थिए ।
झापामा भोलि ‘हो, हामी क्षयरोग अन्त्य गर्छौ’ भन्ने नाराका साथ विश्व क्षयरोग दिवस(२०८० मनाइँदै छ । “चालु आवमा क्षयरोगका बिरामीको अनुपात हेर्दा ५५ प्रतिशत पत्ता लागेको देखिन्छ”, फोकल पर्सन दासले भन्नुभयो, “अझै ४५ प्रतिशत थप क्षयरोगी पत्ता लगाउनु चुनौती देखिन्छ ।” उहाँका अनुसार गत आव २०७९र८० क्षयरोगबाट २० जनाको मृत्यु भएको थियो ।
“क्षयरोग माइक्रो ब्याक्टेरिया ट्युबरक्लोसिस नामक जीवाणुको सङ्क्रमणका कारण हुने सङ्क्रमणजन्य सरुवा रोग हो । श्वासप्रश्वासको माध्यमबाट सर्ने भएकाले क्षयरोगीले खोक्दा, हाच्छ्यू गर्दा कीटाणु निरोगी मानिसको सम्पर्कमा आएमा रोग सर्ने जोखिम हुने गर्दछ”, दासले भन्नुभयो । उहाँका अनुसार राष्ट्रिय क्षयरोग केन्द्रको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९र८० मा नेपालमा ३७ हजार चार सय ४७ क्षयरोगका बिरामी पत्ता लागेका छन् ।
फोकल पर्सन दासले सङ्क्रमण पत्ता लागेका तीन प्रतिशत बिरामीको मृत्यु भएको भन्दै मृत्यु हुनेमा ३५ प्रतिशत महिला र ६५ प्रतिशत पुरुष रहेका जानकारी दिनुभयो । सङ्क्रमित बिरामी मध्ये आठ प्रतिशत १५ वर्षमुनिका बालबालिका रहेका छन् । करिब ७२ प्रतिशत बिरामी फोक्सो सङ्क्रमित छन् भने २८ प्रतिशत बिरामी फोक्सोबाहेक अन्य अङ्गहरूको सङ्क्रमित छन् ।
विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओ ले नेपालमा आर्थिक वर्ष २०७९र८० मा ७० हजार नयाँ क्षयरोगका बिरामी थपिनाका साथै १८ हजार क्षयरोगीको मृत्यु हुने अनुमान गरेको थियो । नेपालमा अझै ४५ प्रतिशत क्षयरोगका बिरामी पत्ता लगाउन नसक्दा यो रोग उन्मूलन गर्ने लक्ष्य भेट्टाउन चुनौती थपिएको स्वास्थ्य कार्यालय झापाका क्षयरोग फोकल पर्सन दासले बताउनुभयो ।
नेपाल विश्वमा औषधि प्रतिरोधी क्षयरोगको उच्च भार भएको देशमा पर्ने भन्दै छ सय ९३ जना औषधि प्रतिरोधी क्षयरोगका बिरामी पत्ता लाएकामा पाँच सय ४६ उपचारको दायरामा आएका छन् । पत्ता लागेका क्षयरोगका बिरामीको उपचार सफलता दर ९२ दशमलव चार र औषधि प्रतिरोधी क्षयरोगका बिरामीको उपचार सफलता दर ८२ प्रतिशत रहेको उहाँले जानकारी दिनुभयो । दुई हप्ताभन्दा बढी समय एकनासले खोकी लाग्नु, खोक्दा खकारमा रगत देखिनु, साँझपख ज्वरो तथा पसिना आउनु, खानामा रुचि कम हुनु, तौल कम हुनु क्षयरोगका प्रमुख लक्षण हुन् । रासस







प्रतिक्रिया राख्नुहोस्