तपाईँ सुन्दै हुनुहुन्छः

सातै प्रदेशमा निर्यात गृह स्थापना गर्न चेम्बरको आग्रह

काठमाडौँ । निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको छाता संस्था नेपाल चेम्बर अफ कमर्सले सातै प्रदेशमा स्थानीय उत्पादनको प्रवर्द्धन हुने गरी निर्यात गृह खोल्न उद्योग मन्त्रीलाई आग्रह गरेको छ ।

चेम्बरका अध्यक्ष राजेन्द्र मल्लको नेतृत्वको टोलीले आज उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई भेट गरी स्थानीय उत्पादनको एकीकृत प्रवर्द्धन, बजारीकरण एवं गुणस्तर मापनपछि एक द्वार प्रणालीमार्फत निर्यात गर्न सातै प्रदेशमा निर्यात गृह खोल्न आग्रह गरेको हो ।

चेम्बरले विप्रेषणबाट भित्रिने रकमलाई उत्पादनमूलक क्षेत्रमा लगाउने गरी नीतिगत व्यवस्था गर्न पनि मन्त्री भण्डारीलाई आग्रह गरेको छ । विप्रेषणको झण्डै ९० प्रतिशत हिस्सा उपभोगमै खर्च भइरहेको सन्दर्भमा चेम्बरले अर्थतन्त्रको विस्तारमा योगदान गर्ने गरी उत्पादनमूलक क्षेत्रमा लगानीको वातावरण बनाउनुपर्ने बताएको हो ।

चेम्बरले अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेकाले संसद्मा विचाराधीन आर्थिक विधेयकलाई तत्काल पारित गर्नका लागि भूमिका खेल्न समेत आग्रह गरेको छ । वर्तमान समयमा कालोबजार ऐन, २०३२ का कतिपय प्रावधानहरू असान्दर्भिक भएकाले समयसापेक्ष सुधार गर्नुपर्ने चेम्बरले जनाएको छ ।

चेम्बरले स्थानीय स्रोतमा आधारित खनिजजन्य रत्न पत्थर, जडीबुटी एवं वनजन्य उद्योगमा आवश्यक कानुन बनाई निर्यात प्रवर्द्धन गरिनुपर्ने बताएको छ । बजार अनुगमनका नाममा व्यवसायीले अनावश्यक दुःख नदिन चेम्बरले मन्त्रीसमक्ष आग्रह गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button