तपाईँ सुन्दै हुनुहुन्छः

नेपालमा लगानी गर्न विदेशी व्यवसायीलाई मन्त्री भण्डारीको आग्रह

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकारले लगानीमैत्री वातावरण बनाउन उच्च प्राथमिकता दिएको बताउनुभएको छ । 

न्यूज बिजनेस एज प्रालिद्वारा आज यहाँ आयोजित आठौँ संस्करणको ‘न्यूबिज बिजनेस कनक्लेभ एण्ड अवार्ड’ वितरण कार्यक्रममा उहाँले लगानीमैत्री वातावरण बनाउन द्रुतगतिमा आवश्यक कानुन संशोधनको तयारीमा सरकार जुटेको छ भन्नुभयो ।  

आगामी वैशाख १५ र १६ गते सरकारले लगानी सम्मेलनको आयोजना गर्न लागेको जानकारी गराउँदै मन्त्री भण्डारीले नेपालमा लगानी गर्न स्वदेशी तथा विदेशी व्यवसायीलाई आग्रह गर्नुभयो । साना तथा मझौला उद्योगको प्रवर्द्धनमा सरकार अग्रसर भइरहेको जनाउँदै उहाँले रुग्ण अवस्थामा पुगेका उद्योग सञ्चालनका लागि अध्ययन गरिने बताउनुभयो ।

‘कठिन समयमा व्यापार अवसर’ विषय कार्यक्रममा उहाँले छिट्टै सरकारले वाणिज्य नीति समयानुकूल परिमार्जन गर्ने जानकारी दिनुभयो । उद्योगी तथा व्यवसायीका समस्या समाधानका लागि सरकार संवेदनशील रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले निजी क्षेत्र समृद्ध नभएसम्म देशको अर्थतन्त्र माथि उठ्न सक्दैन भन्नुभयो ।

कार्यक्रममा भारतको उद्योग वाणिज्य महासङ्घका वरिष्ठ सल्लाहकार मानव मजुमदार, युनिलिभरका प्रबन्ध निर्देशक अमलान मुखर्जी, निम्बुस होल्डिङ प्रालिका प्रबन्ध निर्देशक आनन्द बगरिया र भाइनेट कम्युनिकेशनका प्रमुख कार्यकारी अधिकृत सेवा पाठकले कठिन समयमा व्यापार अवसर विषयमा आ आफ्नो धारणा राख्नुभएको थियो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button