तपाईँ सुन्दै हुनुहुन्छः

आठौँ भक्तपुर औद्योगिक तथा व्यापार महोत्सव आयोजना हुने

भक्तपुर । भक्तपुरमा आठौँ भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सव आयोजना हुने भएको छ । आज पत्रकार सम्मेलन आयोजना गर्दै यही चैत्र २२ देखि वैशाख २ गतेसम्म महोत्सव आयोजना हुने जानकारी दिइएको हो ।

औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्याण्ड आयोजक रहने सो महोत्सव भक्तपुरको सल्लाघारीस्थित तीनकुने चौरमा ११ दिनसम्म चल्नेछ । महोत्सवमा २०० भन्दा बढी स्टल रहने महोत्सव अवलोकन गर्न ५ लाख भन्दा बढीको उपस्थिति रहने बताइएको छ । महोत्सवमा करिब १२ करोड रुपैयाँको कारोबार हुने आयोजक संस्थाका अध्यक्ष सन्दिप महतले बताउनुभयो ।

मेलामा दैनिक जीवनका उपभोग्य सामाग्री, लत्ताकपडा, जुत्ता, हस्तकलाका सामाग्री लगायतको स्टल रहने अध्यक्ष महतको भनाई छ । अध्यक्ष महतका अनुसार मेलामा कृषि औजार, सूचना तथा प्रविधि आदिको प्रदर्शनी समेत रहने छ । मेलामा सर्वसाधारणका लागि प्रवेश शुल्क ७० रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ । ज्येष्ठ नागरिकलाई भने निःशुल्क प्रवेश दिइने मेला आयोजक समितिका संयोजक दिपक थापाले जानकारी दिनुभयो ।

मेलामा बालबालिकाको मनोरञ्जनका लागि रोटेपिङ, ब्रेकडान्स लगायत विभिन्न खेलहरू रहने छन् । दैनिक राष्ट्रिय स्तरका कलाकारको उपस्थितमा विभिन्न साँस्कृतिक कार्यक्रम गरिने संयोजक थापाले बताउनुभयो ।

वैशाख २ गते औद्योगिक मेला सकिएपछि ३ गते भने मनोरञ्जनका लागि ख्यातिप्राप्त कलाकारहरूको उपस्थितिमा विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरिने मध्यपुर ब्वाइज बैण्डका अध्यक्ष एवं मेलाका निर्देशक सुनिल बज्राचार्यले बताउनुभयो । सो दिन भने प्रवेश शुल्क २०० रुपैयाँ रहने बज्राचार्यको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button