तपाईँ सुन्दै हुनुहुन्छः

विल विजक भन्दा १ करोड १८ लाख बढीको सामान सहित ट्रक प्रहरी नियन्त्रणमा

वीरगंज । बारा प्रहरीले विभिन्न स्थानमा चेकजाँच गर्दा प्रज्ञापन पत्र तथा विल विजक भन्दाबढी १ करोड १८ लाख ६ हजार बराबरको अवैध समान सहित ट्रक नियन्त्रणमा लिएको छ । 

बारा प्रहरी मातहत विभिन्न प्रहरी इकाई कार्यालयहरूबाट खटिएको प्रहरी टोलिले  गाडीहरूलाई रोकी चेक जाँच गर्दा विल विजक भन्दा बढी समानको स्रोत खुलाउन नसकेको १ करोड १८ लाख ६ हजार १ सय ४० रूपैया बराबरको समान सहित ट्रक नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं डिएसपी दधिराम न्यौपानेले बताउनु भयो ।

प्रहरीले आज बिहान वीरगंजबाट बाँके तर्फ जाँदै गरेको ना ६ ख ६५१३ नं.को ट्रक बाराको जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.७ जीतपुर स्थित सडक खण्डमा चेकजाँच गर्दा कस्मेटिक सामान, रेडिमेड कपडा, औषधि, टायर, बटरकप, पपकन र अन्य किराना सामान गरी  १ करोड १७, लाख ५३ हजार ७ सय ४० रुपैयाँ बराबरको बिल भन्दा बढी स्रोत खुलाउन नसकेको समान बरामद गरेको थियो । 

त्यसैगरी इलाका प्रहरी कार्यालय पथलैया बाराले गएराति रौतहटबाट काठमाडौँ जाँदै गरेको बा.प्र.०३–००१ख ११३४ नम्बरको यात्रु बाहक बस पथलैयामा चेकजाँचको क्रममा विल नभएको १ सय २४ प्याकेट बिडी, ३३ प्याकेट खजुर र आलमुनियमको रड गरी ५२ हजार ४ सय रुपैयाँको सामान बरामद गरी राजस्व कार्यालयमा बुझाएको न्यौपानेले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button