तपाईँ सुन्दै हुनुहुन्छः

वीरगंजको नारायणी रंगशाला पुर्ननिर्माण गर्न सांसद यादवद्वारा सरकारसँग माग

वीरगंज । जनता समाजवादी पार्टी जसपाका प्रमुख सचेतक प्रदीप यादवले वीरगंजको नारायणी रंगशाला पुनर्निर्माण गर्न सरकारसँग माग गर्नु भएको छ ।

आज प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद यादवले मन्त्रिमण्डल पुनर्गठन भएर नयाँ अर्थमन्त्री र युवा खेलकुदमन्त्री आएको भन्दै मधेश प्रदेशको गौरवको रूपमा रहेको ऐतिहासिक नारायणी रंगशाला पुनर्निर्माण अगाडि बढाउन माग गर्नु भएको हो । 

२ अर्ब ६४ करोडको लागतमा पुनर्निर्माण गर्ने भनेर चार वर्षअगाडि डिपिआर बनेको र दुई वर्षसम्म आंशिक रुपमा काम भए पनि बजेट अभावले रोकिएको उल्लेख गर्दै यादवले बाँकी काम अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउनु भयो ।  

उहाँले केही वर्षअगाडि राष्ट्रिय खेलकुद परिषद्ले डिपिआर बनाएको थियो, त्यो डिपिआर दुई अर्ब ६४ करोडको लागतमा पुनर्निर्माण हुन्छ भनेर सरकारलाई जानकारी गराएको थियो । सरकारले सात करोड रुपैयाँ विनियोजन गरेर रंगशाला अलपत्र पारेकोमा दुःख प्रकट गर्नु भयो । 

काठमाडौँको दशरथ रङ्गशालासँगै स्थापना भएको नारायणी रंगशाला पुनर्निर्माणको पर्खाइमा खण्डहर बन्दा खेलहरू हुन छाडेको यादवले बताउनु भयो । 

काठमाडौँको दशरथ रङ्गशालासँगै निर्माण भएको १८ बिगा जग्गामा अवस्थित नारायणी रङ्गशालामा क्रिकेट र फुटबललगायत खेल हुने गरेकोमा अहिले खण्डहर बनेको कारणले खेलहरू हुन छाडेको सांसद यादवले बताउनु भयो । यादवले रंगशालाको पुनर्निर्माण गरेर क्षेत्रीय स्तरको बनाउन माग समेत गर्नु भयो ।

अरू रङ्गशालामा सरकारको ध्यान छ तर, वीरगन्जमा ध्यान पुग्न सकेको छैन भन्दै अब पुनर्गठित मन्त्रिमण्डलमा नयाँ अर्थमन्त्री र युवा खेलकुदमन्त्री आउनुभएको छ । 

रङ्गशालाका लागि खेलकुद मन्त्रीले बजेट माग गर्ने र अर्थमन्त्रीले यसै वर्ष दुई अर्ब निकासा गर्ने विश्वास आफूले लिएको बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button