प्रज्ञा–प्रतिष्ठानमा बाबुराम आचार्यको जीवनी र व्यक्तित्वबारे प्रवचन

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठान, सामाजिक शास्त्र विभागले इतिहास शिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानसँगको सहकार्यमा इतिहास शिरोमणि बाबुराम आचार्यको १३७ औँ जन्मजयन्ती भव्यतापूर्वक मनाएको छ । यस अवसरमा “बाबुराम आचार्य: जीवनी र व्यक्तित्व” विषयक प्रवचनको समेत आयोजना गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले बाबुराम आचार्यको तस्बिरमा माल्यार्पण गरेर उक्त कार्यक्रमको समुद्घाटन गर्नुभयो । यसै क्रममा मन्त्री तामाङले इतिहास लेखनको माध्यमबाट संसारलाई चिनाउन सफल बाबुराम आचार्यले संसारकै सर्वोच्च शिखरलाई सगरमाथा नामकरण गरेर नेपालको गौरव बढाउन योगदान गरेको बताउनुभयो। मन्त्री तामाङले इतिहास शिरोमणि बाबुराम आचार्यका अप्रकाशित कृतिको प्रकाशन गर्नुपर्ने र नेपालको सांस्कृतिक, राजनीतिक र साहित्यिक इतिहासको खोज अनुसन्धान गरेर महत्त्वपूर्ण र अतुलनीय योगदान पुर्याएकाले उहाँ सधैँ सम्झिने व्यक्तित्वमा पर्ने बताउनुभयो।
यसैगरी प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले इतिहास शिरोमणि बाबुराम आचार्यले नेपाली साहित्यिक इतिहासको जग बसाल्नु भएको बताउनुभयो । आचार्यले पुराना कवि र कविता तथा तुलनात्मक सुन्दरकाण्ड जस्ता महत्त्वपूर्ण कृतिको प्रकाशन गरेर साहित्यिक इतिहास र समालोचनात्मक प्रवृत्तिको उजागर गरेको बताउनुभएको थियो । साथै सदस्य सचिव सुवेदीले बाबुराम आचार्यका कृतिको प्रकाशन गर्नका लागि सहकार्य गर्न प्रज्ञा–प्रतिष्ठान सदैव तयार रहेको बताउनुभयो ।

यसैगरी प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा सामाजिक शास्त्र विभाग प्रमुख डा.कौशिला रिसालले स्वागत मन्तव्यका क्रममा कार्यक्रमको औचित्यबारे प्रकाश पार्दै नेपालको इतिहास र साहित्यको खोज अनुसन्धानमा इतिहास शिरोमणि बाबुराम आचार्यले उल्लेखनीय योगदान पुर्याउनुभएकाले नै तत्कालीन सरकारले २००८ सालमा इतिहास शिरोमणि उपाधिले विभूषित गरेको बताउनु भयो ।
यसैगरी संस्कृतिविद् डा. गोविन्द टण्डनले “बाबुराम आचार्य जीवनी: र व्यक्तित्व” विषयमा प्रवचन दिनुभयो। अनेकौँ दुख कष्ट भोगेर पनि नेपालको इतिहास र साहित्यिक इतिहासमा विशिष्ट योगदान इतिहास शिरोमणि आचार्यले पुर्याउनु भएको उहाँले बताउनुभयो । कहालीलाग्दो राणा शासनमा जन्मिएका आचार्यले अनेकौँ अभाव र दुखलाई झेलेर पनि नेपाललाई प्रामाणिक इतिहास दिनुभएको उहाँले बताउनुभयो । यस्तो विशिष्ट योगदान गरेका बाबुराम आचार्यबारे डकुमेन्ट्री र फिल्म बन्नुपर्थ्यो ,त्यो हुन नसकेकोमा कार्यक्रममा डा।टण्डनले दुखेसो पोख्नुभएको थियो । २००८ सालमा इतिहास शिरोमणिको उपाधि तत्कालीन सरकारले दिए पनि आचार्यलाई राष्ट्रिय विभूति घोषणा गर्न सबैले पहल गर्नुपर्नेमा जोड दिनु भएको भयो ।








प्रतिक्रिया राख्नुहोस्