हेटौँडामा बागमती प्रदेश स्तरीय महिला उद्यम प्रदर्शनी हुने
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौँडामा आगामी चैत्र २ देखि ६ गतेसम्म प्रदेश स्तरीय महिला उद्यम प्रदर्शनी आयोजना हुने भएको छ ।

मकवानपुर उद्योग वाणिज्य सङ्घको महिला उद्यमी विकास समितिले “पर्यटन, कृषि, लघु उद्यमशीलता–महिला सहभागिता आजको आवश्यकता” भन्ने नाराका साथ प्रदर्शनी आयोजना गर्न लागेको हो ।
महिला उद्यमीले उत्पादन गरेका वस्तुको प्रवर्द्धन तथा उत्पादित वस्तुको बजारीकरण गर्नका लागि प्रदर्शनी गर्न लागिएको बुधबार हेटौँडामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
पत्रकार सम्मेलनमा समितिकी सभापति अंकिता सुमार्गीले प्रदर्शनीमा महिला उद्यमीहरूको हस्तकला उत्पादन, अन्य वस्तु तथा सेवाहरूको प्रदर्शनीसँगै कृषि सम्बन्धी स्टलहरू रहने जानकारी दिनुभयो ।
प्रदर्शनीमा मकवानपुर, सिन्धुली, चितवन, काठमाडौँ, नुवाकोट, इटहरी लगायत विभिन्न जिल्लाका गरि कुल ३७ वटा स्टलहरू रहने उहाँले बताउनुभयो ।
निःशुल्क प्रदर्शनी तथा अवलोकनको व्यवस्था गरिएको यस प्रदर्शनीमा महिला उद्यमीहरूको वस्तु तथा सेवाहरूको प्रदर्शनी तथा बिक्री, कृषि उपजहरूको प्रदर्शनी गर्नुका साथै स्थानीय कलाकारहरूको मनोरञ्जनात्मक प्रस्तुति, महिला उद्यमीहरूको सफलताको कथा प्रस्तुति, महिला उद्यमशीलता सम्बन्धी प्यानल छलफल र कृषि विषयक खुल्ला अन्तरक्रिया समेत हुने बताइएको छ ।
पत्रकार सम्मेलनमा उद्योग वाणिज्य संघ मकवानपुरका अध्यक्ष कृष्ण कुमार गुप्ताले महिलाभित्र धेरै सिप भए पनि त्यसलाई बाहिर ल्याउन नसकेको भन्दै महिलाभित्र भएको सिपलाई बाहिर ल्याउनमा यस्तो प्रदर्शनी महत्वपूर्ण हुने धारणा राख्नुभयो । उहाँले प्रदर्शनीलाई सफल बनाउन सबैसँग आग्रह समेत गर्नुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्