कैलालीमा कुटपिटबाट एक जनाको मृत्यु, घटनामा संलग्न रहेको आशङ्कामा ५ जना पक्राउ
धनगढी । कैलालीको धनगढीमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ ।
सामूहिक कुटपिटबाट धनगढी उपमहानगरपालिका ८ का महेश रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी कुलदिप चन्दले बताउनुभयो ।
स्थानीयको घरमा राती प्रवेश गरेका बेला रानामाथि कुटपिट भएको र कुटपिटबाट गम्भीर घाइते भएका रानाको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मुद्दा शाखाका इन्चार्ज प्रहरी निरीक्षक उपेन्द्र बमले स्थानीय मिनबहादुर चौधरीसहित ५ जनालाई पक्राउ गरिएको बताउनुभयो । उहाँले घटनामा संलग्न रहेको आशङ्कामा मिनबहादुर चौधरी, श्रीमती पुनम चौधरी, जस्टिना चौधरी (छोरी), जोगीलाल चौधरी र दिपेन्द्र चौधरीलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।
किटानी जाहेरीपछि उनीहरुलाई पक्राउ गरिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्