तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन कार्यक्रम प्रकाशन

काठमाडौँ । संघीय संसद् सचिवालयले राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन कार्यक्रम प्रकाशन गरेको छ ।

राष्ट्रियसभाको आजको बैठकले यही फागुन २९ गतेका लागि निर्वाचनको मिति निर्धारण गरेकोले सोही बमोजिम निर्वाचन कार्यक्रम प्रकाशन गरिएको संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो ।

कार्यक्रम अनुसार भोलि (सोमबार) बिहान ११ः०० बजेदेखि अपराह्न १ः०० बजेसम्म संसद् भवन नयाँ बानेश्वरमा राष्ट्रियसभाका कुनै सदस्यलाई अध्यक्ष पदमा निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दिने र दर्ता भएका प्रस्तावको भोलि(सोमबार) नै साँढे १ बजे सूची प्रकाश गर्ने कार्यक्रम रहेको छ ।

पर्सि (मङ्गलवार) बिहान ११ बजेर ९ मिनेटमा बस्ने राष्ट्रियसभा बैठकमा अध्यक्ष पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव गर्ने र समर्थकले समर्थन गर्ने कार्यक्रम तय गरिएको संघीय संसद् सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेद्वारा आज जारी सूचनामा जनाइएको छ ।

अध्यक्ष पदका लागि एकभन्दा बढी प्रस्तावको सूचना प्राप्त हुन आएमा संक्षिप्त छलफल हुने र प्रस्तावलाई दर्ता क्रमअनुसार निर्णयार्थ प्रस्तुत गर्ने सूचनामा जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button