नवनियुक्त वनमन्त्री सुडीद्वारा पदबहाली

काठमाडौँ I नवनियुक्त वन तथा वातावरण मन्त्री नवलकिसोर साह सुडीले पदबहाली गर्नुभएको छ ।
राष्ट्रपति कार्यालयमा आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनियताको शपथ लिएपछि सिंहदरबारस्थित मन्त्रालय पुगेर उहाँले आजै पदबहाली गर्नुभएको हो ।
सो अवसरमा मन्त्रालयका सचिव डा दीपकुमार खराललगायत मन्त्रालयल र मातहतका विभाग तथा निकायका उच्चपदस्थ कर्मचारीहरूले उहाँलाई स्वागत गर्नुभएको थियो । पदबहालीपछि कुरा गर्दै मन्त्री सुडीले मन्त्रालयल तथा निकायका सबै कर्मचारीसँग सरसल्लाह तथा विचार विमर्श गरेर मन्त्रालयका काम अघि बढाउने बताउनुभयो ।
मन्त्री सुडीले भन्नुभयो, “वनको विकास र वनबाट मुलुकको समृद्धि कसरी हासिल गर्न सकिन्छ भन्ने सम्बन्धमा सरोकारवाला सबैसँग राय सुझाव सल्लाह लिएर मन्त्रालयका काम अघि बढाउने छौँ ।” मुलुकको करिब ४५ प्रतिशत भूभाग ओगटेको वन क्षेत्रबाट स्थानीय जनताका जीविकोपार्जनको आवश्यकता पूरा गर्ने र मुलुकमा रोजगारी सिर्जना गर्ने सम्बन्धमा आफ्नो ध्यान केन्द्रित हुने उहाँले विश्वास दिलाउनुभयो ।
मन्त्री सुडीले पदबहालीपछि सङ्घीय मन्त्रालय र सातै प्रदेशका वन मन्त्रालयबीच समन्वयका लागि समन्वय अधिकृत तोक्ने पहिलो निर्णयमा हस्ताक्षर गर्नुभएको छ ।
उक्त निर्णयानुसार सङ्घीय वन मन्त्रालयका सहसचिवहरू बद्रीराज ढुङ्गानालाई (कोशी प्रदेश), नवराज पुडासैनीलाई (मधेस प्रदेश), राजेन्द्र केसीलाई (बागमती प्रदेश), डा महेश्वर ढकाललाई (गण्डकी प्रदेश), डा बुद्धिसागर पौडेललाई (लुम्बिनी प्रदेश), मोहनदेव जोशीलाई (कर्णाली प्रदेश) र शिवकुमार वाग्लेलाई (सुदूरपश्चिम प्रदेश) समन्वय अधिकृत तोकिएको सचिव डा खरालले जानकारी दिनुभयो ।
मन्त्री सुडी प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ सालमा सप्तरी क्षेत्र नं १ बाट निर्वाचित हुनुभएको हो । रासस








प्रतिक्रिया राख्नुहोस्