मध्यमा मिथिला परिक्रमा फागुन २७ गतेदेखि
जनकपुरधाम । आगामी फागुन २७ गतेदेखि सुरु हुने सबैभन्दा ठूलो धार्मिक पदयात्रा मिथिला मध्यमा परिक्रमाको तयारी सुरु गरिएको छ ।
१५ दिवसीय ऐतिहासिक धार्मिक महत्व बोकेको परिक्रमाको पडावस्थलहरुमा दुई दिन मास मदिराको बिक्री वितरण निषेध गरिएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।
प्रशासनले परिक्रमामा डिजे बाजामा धार्मिक गीत बाहेक अन्य बजाउन नपाउने लगायतको आठ बुँदे निर्णय गरेको छ ।
परिक्रमा क्षेत्रमा परापूर्वकालदेखि चलिआएको परिक्रमा पर्वलाई व्यवस्थित सञ्चालन गर्न गराउनका लागि प्रत्येक पडावस्थलमा पवित्र डोला विश्राम हुने भएकाले पडावस्थलहरु र सोको १ किलोमिटर वरपरको क्षेत्रमा २४ घण्टा अगावैदेखि ४८ घण्टाको लागि माछा मासु बेचबिखन, पशुपक्षी काटमार र मदिरा बिक्री वितरण तथा सेवन गर्न निषेध गरिएको प्रशासनले जनाएको छ ।
परिक्रममाको क्रममा चर्को आवाजमा धार्मिक बाहेकका गीतहरू डिजे बजाउन निषेध गर्ने लगायतको निर्णय भएको निमित्त प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद भूषालले जानकारी दिनुभयो ।
परिक्रमा मार्गमा पर्ने स्थानीय पालिकाहरूलाई समन्वय गरी स्वास्थ्य, विद्युत्, खानेपानी टेलिकम, सडक, ट्राफिकलगायत व्यवस्थापन गर्ने, सहभागी डोलाहरू निर्धारित स्थान र समयबाट प्रस्थान भइसकेपछि परिक्रमा मार्गमा विगतदेखि चलिआएको परम्परा अनुसार व्यवस्था मिलाउन जनकपुर क्षेत्र विकास परिषद्ले समन्वय गर्ने जनाइएको छ ।
परिक्रमा अवधिभर सुरक्षा निकायबाट समन्वयात्मक रुपमा सुरक्षा योजना बनाई भरपर्दो सुरक्षा व्यवस्था मिलाउने लगायतको निर्णय गरिएको निमित्त प्रजिअ भूषालले जानकारी दिनुभयो ।
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले परिक्रमा व्यवस्थापनको लागि सम्बन्धित पक्षको बैठक बोलाएर थप निर्णय गर्ने सहितका अन्य आठ बुँदा विषयमा निर्णय भएको छ ।
विश्वकै सबैभन्दा ठूलो धार्मिक पदयात्रा आगामी फागुन २७ गतेदेखि धनुषाको मिथिला बिहारी नगरपालिकामा रहेको कचुरीबाट मिथिला विहारी भगवान् रामको डोला तथा जनकपुरधामको अग्नि कुण्डबाट किशोरी जी अर्थात् माता जानकीको डोला उठ्ने कार्यक्रम छ ।
फागुनको औँसीदेखि पूर्णिमासम्म चल्ने परिक्रमामा धनुषा, महोत्तरी तथा भारतको विहारका दर्जनौँ धार्मिक ऐतिहासिक ठाँउहरु गरेर १ सय ३३ किलोमिटरको दूरी खाली खुट्टा भजन कीर्तनसहित परिक्रमा हुने गर्दछ ।
१५ दिने परिक्रममा अन्तर्गत क्रमशः जनकपुरको हनुमान नगर, विहारको कलनास्थित कल्यानेश्वर, भारतकै फुलहरस्थित गिरिजा स्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडैई, धुव्रकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, सतोखर, औरही, करुण (भारत), विसौल (भारत) र यात्राको अन्तिम दिन अर्थात् १५ औँ दिन जनकपुरको अन्तर गृह परिक्रम गरी मध्यमा मिथिला परिक्रमा सम्पन्न हुने गर्दछ ।
दुवै देशको साझा धार्मिक पर्वको रुपमा रहेको मध्यमा मिथिला परिक्रमाले नेपाल– भारत बीचको सदियौँदेखि रहिआएको सुमधुर सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत पुग्नेछ ।
मध्यमा मिथिला परिक्रमामा सहभागी हुन नेपाल र भारतको विभिन्न भू–भागबाट ठूलो सङ्ख्यामा भक्तजनहरू आउने गर्दछन् ।







प्रतिक्रिया राख्नुहोस्