तपाईँ सुन्दै हुनुहुन्छः

पूर्वमन्त्री वाग्लेको ‘बहादुर शाह’ उपन्यास सार्वजनिक

गोरखा । नेपाली काँग्रेसका प्रभावशाली नेता तथा लेखक चिरञ्जीवी वाग्लेले आफ्नो तेस्रो कृत्ति ‘बहादुर शाह’ नामक उपन्यास गोरखा सदरमुकाममा एक कार्यक्रम बिच लोकार्पण गर्नुभएको छ । उपन्यास लोकार्पण ज्योतिष एवं ज्येष्ठ नागरिक नारायणभक्त अर्यालले गर्नुभएको हो ।

गोरखा स्रग्रालय परिसरमा भएको लोकार्पण कार्यक्रम ऐतिहासिक क्षेत्र संरक्षण तथा विकास समितिले आयोजना गरेको थियो । यस अघि लेखकको ‘बन्धनशालामा खीर’ र ‘बलिदानले बनेको देश’ पुस्तक प्रकाशित भइसकेका छन् ।

‘बहादुर शाह’ पुस्तकमा गोरखाबाट राज्य विस्तार थालेका पिता पृथ्वीनारायण शाहको कदमलाई निरन्तरता दिन बहादुर शाहबारे पुस्तक चर्चा गरिएको छ ।

पिता पृथ्वी नारायण शाहको निधनपछि राज्य विस्तार गर्ने कार्यभारलाई यिनले नै निरन्तरता दिएका थिए । आफ्नो नायवी कालमा बहादुर शाहले नेपालको नक्सालाई पूर्वमा टिस्टा नदी र पश्चिममा काँगडासम्म फैलाउन सफल भएको पुस्तकमा समावेश छ ।

दरबारभित्रको षड्यन्त्रको सिकार भई युवा अवस्थामै रहस्यमय मृत्यु भएका बहादुर शाहको अन्त्यसँगै नेपालको राज्य विस्तार अन्त्य भएको उल्लेख छ। दरबारभित्र हत्या हिंसा र षड्यन्त्रको शृङ्खला पनि बाक्लिएको र नेपालको सिमाना खुम्चिन पुगेर राज्य कमजोर भएको कुरा पुस्तकमा लेखिएको छ ।

बहादुर शाहको जीवनीमा आधारित ऐतिहासिक उपन्यास ‘बहादुर शाह’ को पाण्डुलिपि २०७६ सालमै तयार भए पनि पुनर्लेखन र सम्पादन प्रक्रियाले समय लिएको उपन्यासकारको भनाइ छ ।

‘नेपालका कतिपय ऐतिहासिक पात्रहरूलाई गैरआख्यान पुस्तकमा पढ्दा लेखकीय आग्रहको झलक पनि भेट्दै आएको थिएँ,’ वाग्ले स्पष्ट पार्छन्, ‘म साहित्यमा रुचि राख्ने साहित्यकै विद्यार्थी भएको हुनाले आफूले जानेकै विधाबाट उपन्यासमार्फत ‘बहादुर शाह’ को कथा प्रस्तुत गर्ने जमर्को गरेको हुँ ।’ लेखक वाग्लेले भन्नुभयो ।

‘मैले अघिल्लो पुस्तकमा पृथ्वीनारायण शाहको राज्य एकीकरणलाई समेटिसकेपछि त्यसलाई अघि बढाएका बहादुर शाहको कथा नभनिँदा इतिहास अधुरै रहन पुगेको महसुस भयो,’ वाग्ले भन्नुहुज्छ, ‘त्यसबाहेक यो देशलाई असाध्यै माया गर्ने तर किनारामा पारिएका एक महत्वपूर्ण पात्र बहादुर शाहप्रतिको मेरो लगावको कारण नै यो पुस्तक लेख्न पुगेँ ।’

वाग्लेका अनुसार उहाँले यस पुस्तकको पाण्डुलिपि तयार पार्नासाथ उति बेलै संस्कृतिविद् तथा इतिहास अध्येता सत्यमोहन जोशीलाई पढ्न दिनुभएको थियो । जोशीको हस्तलिखित ‘दुई शब्द’लाई उनीप्रतिको सम्झना स्वरूप पुस्तकको प्राक्कथनमा समावेश गरिएको छ ।

विशालकाय नेपालको निर्माणमा निर्वाह गरेको प्रमुख भूमिका सधैँ ओझेलमा परेको देखा पर्दछ,’ जोशीले लेख्नुभएको छ, ‘नेपालको राष्ट्रिय इतिहास र राजनीतिका विद्यार्थी र राष्ट्र प्रेमी पाठकहरूका लागि यो ग्रन्थ ज्यादै पठनीय र ज्ञातव्यको स्रोत साधन भएको छ ।’

उहाँले लेखेको ‘बहादुर शाह’ उपन्यासको ‘बहादुर शाह’ उपन्यासका बारेमा कार्यक्रममा प्रा.डा.नवराज कट्टेल, डा.लोकप्रसाद भट्टराई, विनोदकुमार भट्टराई र युद्धप्रसाद अधिकारीले समीक्षा गर्नुभएको थियो ।

नेपालको इतिहास पढ्दै आएका पाठकहरूका निम्ति बहादुर शाह साहसिक र स्वप्नद्रष्टा पात्र हुन् । योग्य पिताका सुयोग्य पुत्र अथवा अभागी राजकुमारका नाममा पनि उनलाई इतिहासमा उल्लेख गरिएको छ । कतिपय इतिहासकारले त उनलाई राष्ट्रिय विभूतिभन्दा माथिको योगदान दिएका तर विभूति नबनाइएका पात्र पनि भनेका छन् । पब्लिकेसन नेपाञ्लयले ‘बहादुर शाह’ प्रकाशन गरेको हो ।
कार्यक्रममा गोरखा नगरपालिकाका मेयर कृष्ण बहादुर राना मगर लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button