महानगरको सडक पेटी खाली : फुटपाथ व्यवसायीको पेट नै खाली
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले फुटपाथ व्यापारमा रोक लगाएसँगै सबैजसो व्यस्त रहने महानगरका विभिन्न चोकहरु यत्तिखेर सुनसान झैँ देखिन्छन् । महानगरका चोकहरु सुनसान देखिँदा उता सडकपेटीमा व्यापार गर्न नपाएकाहरू भने आफूहरू भोकभोकै पर्नुपर्ने अवस्था आएको गुनासो गर्छन् ।
रोजीरोटीको रुपमा रहेको सडक पेटीको व्यवसाय गर्न महानगरले रोक लगाए पछि हाल आफूहरू लुकिलुकी व्यापार गर्न बाध्य भएको धेरैजसोको गुनासो छ।

काठमाडौंका बढी भिडभाड हुने सुनधारा, रत्नपार्क, बानेश्वर, कोटेश्वर क्षेत्रका सडकका पेटीमा दिउँसो व्यापार गर्न रोक लगाइएको छ । महानगरले कढाइगरेसँगै जमलको आकाशे पुलको वरपर र कलंकीमा फुटपाथमा बसेर सामान बेच्नेहरुहरुको सङ्ख्या पनि पछिल्लो समय निकै कम भएको देखिन्छ । यदाकदा व्यापार गरिरहेको अवस्थामा भेटिएकाहरू भने आफूहरूको हातमुख जोर्नकै लागि लुकिलुकी ब्यापार गरिरहेको बताउनुहुन्छ ।
पिठ्युँमा दुई वर्षको बच्चा बोकेर भोटाहिटी क्षेत्रमा मोजाको व्यापार गर्ने १८ बर्षीया रचना लामाले भन्नुभयो, ‘के गर्ने रोजगारीको अर्को विकल्प छैन, बालबच्चाको लालनपालनको लागि भएपनि लुकालुकी व्यापार गर्न बाध्य छु ।’
एकातिर बच्चालाई थम्थमाउदैँ, बेलोलामा कुनबेला नगर प्रहरी आइपुग्छ भन्ने त्रासमा रहकी उनले आफूहरूजस्ता फुटपाथ व्यापारीको व्यवस्थापन सरकारले गर्नुपर्ने बताउनुहुन्छ । ‘चोरेर खान मिलेन, गरीखान नगरपालिकाले दिँदैन, हामी त भोकभोकै मर्ने भयौँ, सरकारले केही गरोस्’उहाँले भावुक हुँदै भन्नुभयो ।
डेरा भाँडा तिर्न र दैनिक गुजारा चलाउनकै लागि आफु महानगरको आदेश विपरीत लुकिलुकी सडकमा व्यापार गर्न बाध्य भएको उहाँले गुनासो गर्नुभयो ।

धादिङ घर बताउने दिपक मगरको गुनासो पनि लामाको जस्तो थियो । पिठ्युँमा बिक्री गर्ने सामानहरू भएको झोला अनि हातमा मास्क र पानीको बोतलहरू बोकेर वीर अस्पताल अगाडि उभिएका उनले अस्पतालभित्र छिर्दै गरेकाहरूलाई मास्क, पानी बेच्ने गर्दै आइरहनुभएको छ ।
वीर अस्पताल पछाडि डेरामा बसिरहनु भएका दिपकले दिनभरी बाटोमा डुल्दै पानी र मास्क र रातमा फुटपाथमा म्याटहरू बेच्दै घरायसी खर्च चलाउँदै आउनु भएको बताउनुभयो ।
उहाँले चोरले जस्तो लुकिलुकी ब्यापार गर्दै बालबच्चाको पढाइ खर्च, कोठाभाडा र घर खर्च समेत जुटाउनु परेको गुनासो गर्नुभयो । ‘राज्यले कुनै रोजगारी दिँदैन, व्यापार व्यवसाय गरेर खान्छु भन्दा पनि चोर पुलिसको खेल जस्तै भागाभाग गर्नु परिरहेको छ’ दिपकले भन्नुभयो ।
धेरै पटक नगर प्रहरीले नियन्त्रणमा लिएको र सामान खोसिदिएको घटना सम्झँदै उहाँले त्यसो गर्नु आफ्नो बाध्यता भएको बताउनुभयो ।भोटाहिटी साइबर ब्युरो अगाडि भेटिएका ९० बर्षिया वृद्ध महिलाको पीडा पनि उस्तै छ ।

३५/४० वर्षदेखि सडकको किनारामा सामानहरू बेच्दै आउनु भएकी उहाँले आफ्नो नामै भन्न चाहनु भएन । छोराछोरीले छोडेकोले आफु एक्लै बसिरहनु परेको र पेट पाल्नकै लागि सडकमा ब्यापार गर्नु परेको बताउनुभयो । ‘आफ्ना सन्तानहरूले पनि छाडे , राज्यले पनि मर्ने बेलामा यसरी लखेटिरहेको छ गरिबहरू अब कसरी बाँच्ने ?’ उहाँले प्रश्न गर्नुभयो। लुकेर ब्यापार गरिरहेका अवस्थामा भेटिएका अधिंकास व्यापारीहरू आफूहरूले गरिखान पाउनु पर्ने भन्दै महानगरले नै व्यापार गर्नको लागि उचित एवं वैकल्पिक स्थानको व्यवस्था गर्नु पर्ने बताउनुहुन्छ ।

भारतको बिहार स्थायी ठेगाना बताउने काजल गुप्ता पिपुल्स क्याम्पसमा स्नातक अध्ययन गरिरहनु भएको छ । बुवा, आमा र भाइ बहिनीहरूसँगै काठमाडौँमा डेरामा बसेर ब्यापार गर्दै र पढ्दै आउनु भएको छ ।
सुनधाराको नागस्थानको सस्तो बजारमा ग्राहकहरू कुरिरहेकी काजलले त्यहाँ राम्रो ब्यापार नहुने र महानगरले फुटपाथमा बस्न नदिए पछि साँझपख फुटपाथमा गएर जबरजस्ती सामानहरू बिक्री गर्ने गरेको बताउनुभयो । सडक पेटीमा व्यापार गर्नु रहर नभै उहाँको बाध्यता हो । फुटपाथमा सामानहरू बेचिरहेको क्याम्पसका साथीहरूले देखेपछि लाजमर्दो लाग्छ तर बाध्यताले गरिरहेको उहाँले सुनाउनु भयो । ६ महिना अघि खुलेको सस्तो बजारमा ६० जना व्यवसायीहरूले विभिन्न किसिमका सामानहरू बेच्दै आउनु भएको छ ।

व्यापार होला कि भनेर विगत ६ महिनादेखि त्यस क्षेत्रमा बस्दै आएको तर ब्यापार नभएको कारण दैनिक खर्च टार्न नै गाह्रो भएपछि सस्तो बजारका आधा भन्दा धेरै व्यवसायीहरू साँझको फुटपाथमा गएर व्यापार गर्ने गरेको बताउँछन् ।
अहिले फुटपाथमा ब्यापार गर्ने व्यापारीहरूको सङ्ख्या घट्नुले हिँडडुल गर्न सजिलो त भएको छ, तर सडक ब्यवसायीहरुलाई दैनिक गुजारा चलाउन कति कठिन भएको होला हाम्रो मन पनि कटक्क खान्छ त्यस क्षेत्र हुँदै यात्रा गर्ने पैदल यात्रीको भनाइ छ ।
भेडासिंङतर्फ आफ्नो घर जाँदै गर्नु भएका अर्का पैदल यात्री आफ्नो नाम नबताउने भन्दै सडकमा त्यस्तो दयनीय अवस्था नबनाउन सरकार र महानगरपालिकाले विशेष ध्यान दिनु पर्ने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्