नेकपा एसको सचिवालय बैठक बस्दै,नयाँ गठबन्धनमा सहभागी हुने,नहुने निर्णय गर्ने

काठमाडौं । नयाँ गठबन्धनमा सहभागी हुनेरनहुने विषयमा निर्णय गर्न नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज (बुधबार) बस्दैछ।
पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आज बिहान ११ बजे बैठक बस्ने एकीकृत समाजवादीले जनाएको छ।
दुई दिनअघि एमाले, माओवादी केन्द्रसहितका चार दल मिलेर बनाएको नयाँ गठबन्धनमा एकीकृत समाजवादी समेटिएको छैन।
मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित नवगठित सत्ता गठबन्धनका शीर्ष नेताहरुले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई उहाँको निवास कोटेश्वरमा भेटवार्ता गरी सरकारमा सहभागी हुन आग्रह गर्नुभएको थियाे ।
प्रधानमन्त्री दाहाल, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली, एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेलसहितका नेताहरुले समाजवादीका अध्यक्ष नेपाललाई सँगै मिलेर राजनीतिक यात्रा अगाडि बढाउन आग्रह गर्नुभएको हो ।
शीर्ष नेताहरुबीचको भेटमा अध्यक्ष नेपालले बुधबार पार्टीको सचिवालय बैठक बसेर नयाँ सत्ता गठबन्धन र सरकारमा सहभागी हुने नहुने निर्णय गर्ने बताउनुभएकाे थियाे ।
नेपाली कांग्रेससँगको गठबन्धन तोडेर नेपाल कम्युनिष्ट पाटी (माओवादी केन्द्र) का अध्यक्ष प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारमा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच नयाँ गठबन्धन गरिएको सहमति सार्वजनिक भएको थियो ।
भेटका अवसरमा अध्यक्ष नेपालले चार दलको नयाँ सहमतिबारे आफूलाई जानकारी नदिइएको बारे प्रश्न राख्नुभएको थियो ।
एमालेसँगको विभाजनपछि अध्यक्ष ओली र अध्यक्ष नेपालबीच कोटेश्वरमा पहिलोपटक भेटवार्ता भएको हो ।
प्रधानमन्त्री दाहालले सोमबार पनि अध्यक्ष नेपालसँग कोटेश्वरस्थित निवासमा भेटवार्ता गर्नुभएको थियो ।







प्रतिक्रिया राख्नुहोस्