तपाईँ सुन्दै हुनुहुन्छः

महिलाका मुद्दामा सशक्त ढङ्गले कलम चलाउनुपर्नेमा जोड

काठमाडौँ । पत्रकारिता तथा आमसञ्चार क्षेत्रका अग्रजहरूले महिलाका मुद्दामा सशक्त ढङ्गले कलम चलाउनुपर्नेमा जोड दिएका छन् ।
एक सय १४औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा नेपाल पत्रकार महासङ्घ, केन्द्रीय महिला विभागद्वारा आज यहाँ आयोजित ‘लैङ्गिकताका सवालमा नेपाली मिडिया विषयक’ अन्तक्र्रियामा महिलाका हक अधिकार सुनिश्चित गर्न सञ्चारकर्मीहरूले काम गर्नुपर्नेमा उनीहरूले जोड दिएका हुन् ।

महासङ्घका सल्लाहकार निर्मला शर्माले लैङ्गिकताका सवाल सहभागिता र विषयवस्तुका आधारमा विश्लेषण गर्नुपर्ने बताउँदै महिलाले नेतृत्वदायी भूमिका निर्वाह गर्न महिलामा दक्षता तथा क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।

“सङ्ख्यात्मक रुपमा महिलाको सहभागिता अभिवृद्धि हुने क्रम रहे तापनि सहभागितासँगै नेतृत्वदायी भूमिका निर्वाह गर्न महिलाले आफ्नो क्षमता विकासमा जोड दिनुपर्छ”, उहाँले भन्नुभयो । “महिला स्वयं सञ्चार क्षेत्रमा रहिरहँदा लैङ्गिकताका सवाल उठान गर्नमा महत्वपूर्ण भूमिका रहन्छ ।”

हिमालय टाइम्सका पूर्व सम्पादक पुरुषोत्तम दाहालले महिलामाथि हुने हिंसा रोक्न गर्न सबै पक्षले ऐक्यबद्धता जनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले महिला मात्र नभई पुरुषलाई पनि सचेत गराउनुपर्ने बताउनुभयो । सञ्चार जगतलाई व्यावसायिक, मर्यादित बनाउन दिगो योजना चाहिने उहाँले बताउनुभयो ।

सञ्चारकर्मी कल्पना शर्माले मिडिया क्षेत्रमा आबद्ध महिलाको अवस्थाबारे गहिरो विश्लेषण गर्न जरुरी भएको बताउँदै आफ्नो क्षमताअनुरूप अधिकार प्राप्तिको लडाइँमा पछि हट्न नहुनेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button