तपाईँ सुन्दै हुनुहुन्छः

हिमपातका कारण नाग्म–गमगढी सडक पुनःअवरुद्ध 

मुगु । शुक्रवारको राति देखिको लगातारको वर्षा र हिमपातका कारण कर्णाली राजमार्ग अन्तर्गत नाग्म–गमगढी सडक खण्ड अवरुद्ध भएको छ । 

कर्णाली राजमार्ग अन्तर्गत नाग्म–गमगढी सडक खण्डमा पर्ने भुलभुले, घुच्चीलेक, सिप्टिचौर र सातमोडमा बाक्लो हिउँ जमेका कारण सडक अवरुद्ध भएको हो । 

यसअघि हिउँ परेर  केही दिन अवरुद्ध भएको नाग्म–गमगढी सडक खण्डको घुच्ची, सातमोड र सिप्टिचौरको हिउँ पन्छाएर सडक सुचारु गरिएको भए पनि  दुई दिनयता मौसममा बदली भई बेसीमा पानी र उच्च भू–भागमा  हिमपात भइराखेको छ । 

एक हप्ता अगाडि  सडक डिभिजन कार्यालय जुम्लाले एक्स्काभेटर र सडक रक्षकको सहयोगले खुलाइएको सडक हिमपातले पुनः अवरुद्ध हुँदा नेपालगन्ज, सुर्खेत र जुम्लाबाट मुगु आउने एक दर्जनभन्दा बढी सवारी साधनहरू जुम्लाको गोठी, जिउला र भुल्चुलेमै रोकिएका छन् ।  

दुई दिनदेखिको लगातारको वर्षा र हिमपातले अवरुद्ध सडक खुलाउनको लागि सडक डिभिजन कार्यालयका कर्मचारी तयारी अवस्थामा रहेको भए पनि हाल हिमपात भइराखेकाले सडक खुलाउन कठिनाइ भएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दिपेन्द्र बिष्टले जानकारी  दिनुभयो । मौसमले साथ दिए भुलभुले, घुच्ची, सिप्टिचौर, र सात मोडमा जमेको बाक्लो  हिउँ पन्साउने र चाँडै सडक सुचारु गरिने उहाँले जानकारी दिनुभयो ।

उच्च हिमाली क्षेत्रमा रहेको कर्णाली राजमार्ग अन्तर्गत नाग्म–गमगढीको सडकको यस  खण्डमा हिउँदमा हिउँ परेर र वर्षामा पानीले पहिरो र रुख ढलेर सधैँ सडक अवरुद्ध हुँदै जान थालेपछि पछिल्ला वर्षहरूमा १ दिन पनि सडक अवरुद्ध नहोस् भनेर सडक डिभिजन कार्यालयले यी सिजनमा सडक रक्षक र स्काभेटर तैनाथ अवस्थामा राख्दै आएको छ ।

सडक डिभिजन कार्यालय जुम्लाले एक्स्काभेटर र सडकका कर्मचारी तैनाथ राखेका कारण हिउँद र वर्षामा २/३ महिना अवरुद्ध हुने यो सडक २ वर्ष यता तुरुन्तै हिउँ, पहिरो र अन्य अवरोध हटाउनाले १/२ दिनभन्दा बढी अवरुद्ध हुने गरेको छैन । प्रमुख पर्यटकीय गन्तव्य नेपाल कै ठूलो र गहिरो ताल रारा घुम्न आउने पर्यटकहरूको स्थल मार्गको सडक पनि यही उक्त सडक खण्ड सधैँ व्यस्त हुने गर्दछ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button